
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ। सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि बुधबार कांग्रेसले एक्कासी पदाधिकारी बैठक डाकेको थियो।
‘आजको बैठकले हिजो मंगलबार प्रधानमन्त्रीले एकलौटी सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश संविधान विपरित भएको ठहर गरेको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘देश कोरोना महामारीले थलिएको छ। अर्थतन्त्र अस्तव्यस्त भएको छ। यस्तो बेलामा संसद अधिवेशन छलेर अध्यादेश जारी गर्नुले सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदाङ्गो भएको छ।’
कांग्रेसले संवैधानिक परिषदको बैठकले कुनै नियुक्ति गरे संसदीय समितिमा चुनौती दिने जनाएको छ। कांग्रेसले आगामी पुस ३ गते संसदीय दलको बैठकसमेत बोलाएको छ। पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षा गरिएको कांग्रेसले जनाएको छ।







