भोजपुरमा धान उत्पादन बढ्यो

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । खेतीयोग्य जमिनमा बृद्धि, पर्याप्त सिँचाई र रोग किराको प्रकोपमा कमी आएपछि योवर्ष भोजपुरमा धान उत्पादन बृद्धि भएको छ । गतवर्षको तुलनामा २० हजार २ सय ७१ मेट्रिक टन धान उत्पादन बढेको छ ।

जिल्लाको कुल उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्छ

योवर्ष कुल १७ हजार सातसय ३० हेक्टर क्षेत्रमा गरिएको खेतीमा कुल ५४ हजार ९ सय ६३ मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ । लकडाउनका कारण योवर्ष खेती जमिनको क्षेत्रफलमा बृद्धि, पर्याप्त सिँचाई र प्रकोपमा कमी आएकाले उत्पादनमा बृद्धि आएको कृषि ज्ञान केन्द्र भोजपुरका सुचना अधिकारी विश्वास आमगाईँ बताउँछन् ।
गतवर्ष जिल्लाको कुल १४ हजार ६ सय १९ दशमलव ७६ हेक्टरमा गरिएको खेतीमा कुल ३४ हजार ६ सय ९२ मेट्रिक टन धान उत्पादन भएको थियो । गतवर्ष धान खेतीमा पर्याप्त सिँचाईको अभाव, जग्गा बाँझिने क्रम र विभिन्न रोग, किराको प्रकोपले धान उत्पादन कमी आएको उनले सुनाए । त्यस्तै योवर्ष ३ हजार एकसय एक हेक्टर क्षेत्रफल खेती पनि बढेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । विशेषगरि योवर्ष हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकाका क्षेत्रहरुमा बाँझिएका र अन्य अन्नबाली हटाएर धानखेती गरिएको केन्द्रको तथ्याङ्क छ ।
जिल्लाको कुल उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्छ । जिल्लाको कुल २० हजार एक सय तीन हेक्टरमा धान खेती गरिने भएपनि कुल ४ हजार सात सय २५ हेक्टर क्षेत्रफलको खेत बाँझिएका छन् । धानका लागि पकेट क्षेत्र मानिने साङपाङ, देउराली, दिङ्ला, हेलौँछा, बोया, प्याउली, तिवारीभञ्याङ, चरम्बी, याङपाङ, चम्पे, मानेभञ्ज्याङ, बैकुण्ठे, बासीखोरा, रानीबास, बालंखा, दुम्माना, हसनपुर, अन्नपूर्ण, छिनामखु, नागी, खावा, दिल्पा र सिद्देश्वर, गुप्तेश्वर, बोखिम, भोजपुर, टक्सार, भैँसीपंखामा स्थानिय अट्टे, जिरा मसिना, मन्सुली, पोखरेली, बास्मती जातका धान खेती हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार