
लण्डन । बेलायतमा कोराना भाइरसको संक्रमण दिनानुदिन तीव्र गतिमा फैलिरहेको छ । प्रत्येक २४ घण्टामा ५० हजार भन्दा माथि संक्रमित भइरहेको छ । तीव्र बढिरहेको संक्रमण रेकर्डलाई दैनिक संक्रमितको उच्च रेकर्ड तोडने गरेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै थप ५७ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको देखाएको छ । महामारी शुरु भएयता एक दिनकै अवधिमा यति धेरै मानिसमा संक्रमण भेटिएको यो पहिलोपटक हो । पछिल्लो २४ घण्टामा ४ लाख २० हजार ४ सय ९२ मानिसमा परीक्षण गरिएको थियो ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्यांकअनुसार गत २४ घण्टाको अवधिमा ज्यान गुमाउने संक्रमितको संख्या ४ सय ४५ छ । विगत एक सातामा मात्रै ३ लाख ४१ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने ४ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।
यससंगै बेलायतमा कोरोना संक्रमित हुनेको जम्मा संख्या २६ लाखको हाराहारीमा पुगेको छ भने संक्रमणपछि मृत्यु हुनेहरु ७५ हजार माथि रहेका छन् ।
संक्रमण दरको मापक मानिने ‘आर नम्बर’ पनि १ दशमलव १ देखि १ दशमलव ३ सम्म रहेकोे छ । जसको अर्थ एक जना संक्रमितबाट एक भन्दा बढी मानिसमा संक्रमण फैलिरहेको छ ।
फाइजनर(बायोनटेक कम्पनीबाट निर्मित कोभिड खोप आम रुपमा लगाउने पहिलो देश बेलायतले यहाँकै अक्सफोर्ड विश्वविद्यालयबाट निर्मित खोप पनि आउँदो सोमबारदेखि आम रुपमा वितरण गर्ने भएको छ ।







