
लण्डन । कोरोना भाइरसको संक्रमण तीव्रतर बन्दै गएपछि इङल्याण्डमा थप लकडाउनको घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सोमबार रातिदेखि लकडाउनको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री जोन्सनले देशवासीलाई नयाँ नियमको पालना गर्न अपील गरेका छन् । उनले अत्यावश्यकीय कार्यबाहेक घरमै बस्न अनुरोध गरेका छन् । नयाँ नियमले यसअघि बेलायतमा रहेको टियर प्रणालीलाई हटाउने छ । इङल्याण्डलाई यदि घरबाट काम गर्न नसक्ने अवस्थामा, अत्यावश्यक खाद्यान्न वा ओैषधि किन्न, शारीरिक कसरतका लागि, जोखिममा रहेका व्यक्तिहरुलाई हेरचाह गर्न र चिकित्सकीय भेट वा हिँसाबाट जोगिनका लागि मात्र घरबाट निस्कन मिल्नेछ । शारीरिक अभ्यासका क्रममा एकाघरमा बस्नेबाहेकका एक जनासित भेट गर्न पाइनेछ ।
यस्तै प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, कलेज र विश्वविद्यालय भोलिदेखि नै अनलाइनका माध्यमबाट हुनेछन् । तर नर्सरीहरु भने खुला रहनेछन् ।
इङल्याण्डमा यो तेस्रो राष्ट्रव्यापी लकडाउन हो । यो लकडाउन फेब्रअरीको मध्यसम्म रहने बताइएको छ । उता स्कटल्याण्डमा पनि आज मध्यरातबाट नै लकडाउन लागू गरिएको छ । वेल्समा पनि जनवरी १८ सम्मका लागि सबै विद्यालयहरु अनलाइनमा सन्चालन हुने बताइएको छ ।
सरकारले ल्याएको नयाँ कानुनमाथि छलफल र मतदानका लागि बुधबार भर्चुअलरुपमा बेलायतको संसद बोलाइएको छ । बेलायतमा बितेको २४ घण्टामा मात्र करिब ५९ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको बताइएको छ ।







