सूर्य चिन्ह मैले नै ल्याएको हुँ : नेता नेपाल

नेकपाका अध्यक्ष माधवकुमार नेपालले चुनाव चिन्ह सूर्य आफूले नै ल्याएको दाबी गरेका छन् । २०४८ सालमा पार्टीले आफूलाई जिम्मेवारी दिएपछि निर्वाचन आयोगमा चुनाव चिन्ह रोज्न जाँदा सूर्य चिन्ह आफूले नै रोजेर ल्याएको उनले बताए ।

 

अहिले चुनाव चिन्ह ओली कि दाहाल-नेपालतिर भन्ने विवाद भइरहँदा पार्टीको बहुमतको आधारमा पनि आधिकारिक पार्टी आफूहरु नै भएकाले चुनाव चिन्ह सूर्य पनि आफ्नै हुने उनको भनाइ थियो ।

 

नेकपा (दाहाल–नेपाल) पक्षका कार्यकर्ताको प्रदेश भेलालाई सम्बोधन गर्न मंगलबार पोखरा आएका नेपालले सूर्य चिन्ह चाहेर पनि कसैले खोस्न नसक्ने बताएका छन् । केपी शर्मा ओलीको विनाशकारी बुद्धिका कारण आज मुलुक द्वन्द्वमा फसेको बताउँदै उनले भने, ‘केपी भाँचिन तयार छन् तर, सच्चिन चाहनन् ।’

 

पार्टीमा बहुमत पुर्‍याउँछु भन्दै सडकमा हिँड्नेलाई पनि केन्द्रीय सदस्य बनाउँदैमा ओलीले नेकपा आधिकारिक पार्टी बनाउन नसक्ने अध्यक्ष नेपालले ठोकुवा गरे । ओलीमा कम्युनिष्ट भावना नै नरहेको बताउँदै उनले आफूहरु नबिराएकाले नडराई संघर्षको मैदानमा उत्रिएको बताए । पार्टी एकताका लागि संघर्ष जरुरी रहेको उनको भनाइ थियो । ‘पार्टीमा संघर्ष चलिरहन्छ’, उनले भने, ‘ओलीलाई पनि वर्षौदेखि चिन्छु । उनी अहिलेमात्र होइन पहिलेदेखि नै स्वार्थी र छलकपट हुन् । उनलाई आफ्नो स्वार्थबाहेक अरु मतलब छैन ।’

 

आफू महासचिव हुँदादेखी नै ओली पिछा लागेको भन्दै नेपालले ओली पदको लागि सीपी मैनालीको पनि पिछा लागेको बताए । ओली व्यक्तिवादी र गुटवादीका कारण पार्टीभित्र जहिलै समस्या उत्पन्न उनले बताए । ‘पावरमा पुगेपछि उनमा अहंकार भरियो’, नेपालले भने, ‘उनको अहंकार अब धेरै टिक्दैन । गुप्तचर होस् या सम्पति सुदृढीकरण सबै आफ्नै अन्डरमा ल्याए । उनलाई पावरमात्र चाहिएको छ । उनमा इमान्दारिता छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार