भरिएन द्वन्दको घाउ, छोरी कुर्दै वित्यो १६ वर्ष

  सिलिचुङ सम्बाददाता

बेपत्ता पारिएकी ईन्द्र कुमारी राईकी बाबु हैकमसिं राई (दाँया) र दाजु रमेश राई (बाँया) ।

 

भोजपुर । घरकी ठुली छोरी, सुशिल स्वभाव, सबैको प्यारी थिईन्, ईन्द्रकुमारी । हतुवागढी गाउँपालिका ४, खैराङ्की ईन्द्रकुमारी राई एसएलसी परिक्षाको तयारीमा थिईन् । माघको चिसो मौसममा हरेक बिहान ‘ट्युसन’ जान्थिन् । सधैंजसो २०५९ माघ ६ गते पनि बिहान घरबाट ट्युसन हिँडिन् । तर उनी त्यो दिन भने साँझसम्म पनि घर फर्किनन् । घरपरिवारले साथिको घर गएको ठाने । साँझसम्म पनि घर नफर्केपछि सोधपुछ भयो । गाउँभरि खैलाबैला मच्चियो । तर उनको केहि पत्तो लागेन । घरमा ७३ वर्षिय बृद्ध बाबु हैकमसिं राई र परिवारको छटपटीमै रात कट्यो ।

छोरीको मायाले बेलाबेला भक्कानिएर चाउरी परेको गालाका डिलबाट बलिन्द्र आँशु धारा बहाउन पुग्छन्, बृद्ध बाबु हैकमसिं

बिहानै गाउँबस्तीका प्रत्येक घर, गोठ, भिरपाखा, बनजंगल खोजियो । कुनै पत्तो लागेन । देशमा संक्रमणकालिन अवस्था थियो । होहल्ला गर्दै जथाभाबी खोज्ने अवस्था पनि थिएन । गाउँगाउँमा तात्कालिन सरकार विरोधी माओवादी र सेनाविचको संघर्षले गाउँ त्यसै त्रासमय थियो । यस्तो घडीमा पनि हैकमसिं र परिवारले छोरीको खोजी गरिरहे । एकदिन दुईदिन गर्दै महिनौसम्म मानिस लगाएर खोजी गरे । खोजी गर्दागर्दै घरको जायजेथा सबै रित्तियो ।
जिल्ला प्रहरी हुँदै विभिन्न निकायसम्म हारगुहार गरे । सबै बेखबर बने । आफ्नो मुटुको टुक्रा विछोडिँदा पिडा एकातिर अर्कोतिर गरिबीले गाँजेको अवस्था । घरमा छोरा र कान्छी छोरी सानै । यस्तै क्रममा ०६४ सालमा जिल्ला अदालतको चक्कर पनि काटे हैकमसिं र छोरा रमेश (ईन्द्र कुमारीकी दाजु)ले । र पनि कुनै लछारपाटो लागेन ।
केहि समयपछि बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नेपाल, नेपाल रेडक्रस सोसाईटी, माईती नेपाल, प्रहरी, स्थानीय शान्ति समितिमार्फत छोरीको हुलिया सबै बोकेर उजुरीका पोकासंग यताउता धाएपनि । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खोजी प्रयास भयो । फेरि पनि पत्ता नलागेपछि छोरी जिवीतै छ भन्ने मनमा झिनो आश मरेको थिएन, हैकमसिं र उनको परिवारलाई ।
‘सम्झिँदा मन भक्कानिएर आउँछ, भाको एउटी प्यारी छोरी । न छोरीको सास पायौँ न लास । केहि पत्तो छैन ।’ बाबु हैकमसिंले भावकु हुँदै भने, ‘मनमा मुटुको टुक्रा जस्तो छोरी बाँचेकै छ जस्तो लाग्छ । मनमा आश अझै मरेको छैन ।’ छोरीको मायाले बेलाबेला भक्कानिएर चाउरी परेको गालाका डिलबाट बलिन्द्र आँशु धारा बहाउन पुग्छन्, बृद्ध बाबु हैकमसिं ।
छोरीलाई कस्ले लग्यो, किन लग्यो, कहाँ लग्यो, म¥यो कि बाँच्यो भन्ने कुनै टुंगोठेगान नभएपछि आशैआशमा दिनहरु वित्न थाले । बहिनीमाथि जे जस्तै अन्याय भएपनि लास या त सासको आशले बेलाबेला अदालतसम्म बुझ्न दुईदिन पैदलै धाउने गर्छन्, दाजु रमेश पनि । बहिनीको बारेमा केही भेटि पो हालिन्छ कि भन्ने आशमा विभिन्न सरोकारवाला निकायसम्म पनि जोरविन्ती गर्ने गरेको उनले सुनाए । भने, ‘बहिनी जिउँदै छ की मरेको केहि थाहापत्तो छैन । तर मान्छेको मन कसरी चित्त बुझाउन सकिएला र । त्यै कतै बसेकी पो होलिन् कि, बाँचेकी पो होलिन् कि मायाले सँधै तानिरहन्छ ।’
चारवर्षसम्म लगातार पाल्तु बाख्रा, कुखुरा, सुँगुर, धनसम्पती जस्ता जायजेथा सबै बेचेर मान्छे खोज्न लगाए पनि कुनै पार लागेन । खोजी गरे तर पनि कुनै सबुत, प्रमाण फेला नपर्दा पिडीत परिवारलाई पर्नु परेको छ । छोरीको मायाले न उनको संस्कार गरियो न कुनै कर्मकाण्ड । बस् छोरी जिउँदै भएको आशमा अझैपनि बाटो हेरिरहन्छन्, उनीहरु ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पछिल्लो तथ्याङ्क अनुसार भोजपुरमा १९ जना बेपत्ताको सुचीमा दर्ता भएको छ । आयोग र अन्य निकायमा दर्ता भएका कुल २४ थान उजुरीमध्ये उक्त १९ थानको विस्तृत छानविनमा रहेको, २ वटा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएको, २ वटा तामेलीमा रहेको र १ थान दोहोरो उजूरीमा परि गाभिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार