
अमेरिकाको डिसी महानगर क्षेत्रमा करिव डेढ दशकदेखि बस्दै आएका नेपाली मूलका अन्तर्राष्ट्रिय चर्चित भारत्तोलक रुप कार्कीको असामयिक निधन भएको छ ।
नेपालमा भारत्तोलनलाई विकास गर्ने र आफूमा भएको शीप मातृभूमिलाई दिउँ भन्ने उद्देश्यले केही महिना अगाडी नेपाल पुगेका कार्कीको गत जनवरी २१ बिहीबारका दिन निधन भएको छ ।
हृदयघात भएपछि उपचारको लागि बुटवलबाट काठमाडौँ लैजाने क्रममा बाटैमा निधन भएको पारिवारिक श्रोत तथा उनका नजिकका साथीभाईहरुले जानकारी दिएका छन् ।
कार्की काठमाडौँबाट बुटवल गएका थिए भने काठमाडौँ लाने क्रममा मुग्लिन कटेपछि उनको निधन भएको हो । उनको अन्तिम संस्कार जनवरी २२ शुक्रबारको दिन काठमाडौँमा गरिने भएता पनि उनका भाई जापानमा भएकोले उनी आएपछि अन्तिम संस्कार हुने भएको बुझिएको छ ।
अमेरिकामा रहेकी उनकी छोरी आजै नेपाल उड्ने भएकी छन् । अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा उनको घर रहेको छ भने उनी श्रीमती, छोराछोरीसँग बसोबास गर्दै आएका थिए । उनकी पत्नी शोभा सुवेदी कार्की हाल काठमाडौँमै रहेकी छिन् ।
कार्की शरीर बनाउन कुनै औषधिको सेवन नगरेका (ड्रग टेस्टेड)समूहमा प्रतियोगितामा भाग लिने शक्तित्तोलक खेलाडी हुन् । नेपाली समुदायमा अमेरिकाको अहिलेसम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र भारत्तोलन खेलाडी हुन् ।
अमेरिकामा विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिस्पर्धी रहने प्रतियोगिताहरुमा छनोट हुने कार्की पहिलो नेपाली मूलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागिता पनि जनाई स्वर्णपदक हासिल गरि सकेका छन् ।
कार्कीले सन् २०१९ मा मास्टर टु २२० पाउण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त जितेका थिए । यसै गरि उनले अमेरिकाको एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग प्रतियोगितामा आफ्नो वजन समूहमा स्वर्ण पदक अर्थात् मास्टर वान पदक समेत प्राप्त गरेका थिए ।
उनले यही माध्यमबाट नेपाल र नेपालीको नाम विश्वमा चिनाउन सफल भएका थिए ।
नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आएदेखि नै शक्तित्तोलनको नियमित प्रशिक्षणमा व्यस्त हुन्थे । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गर्थे ।
कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त शक्तित्तोलक हुन् । कार्की एनआरएनअमेरिकाको खेलकुद समितिमा पनि आबद्ध रहेका थिए भने उनको नेपाली समुदायसंग अत्यन्तै राम्रो जनसम्पर्क रहेको थियो । सबैसंग घुलमिल गर्ने र मृदुभाषी स्व कार्कीको निधनले नेपाली समुदाय शोकाकुल भएका छन् ।







