प्रचण्ड नेपालको तेश्रो चरणको आन्दोलन तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। संघर्षको आगामी रणनीति तय गर्न प्रचण्ड( नेपाल समूहको केन्द्रीय संघर्ष समितिको बैठक दिउँसो २ बजे बस्दैछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेनमार्फत आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि यो समूहले गत माघ २८ गते राजधानीमा वृहत विरोध प्रदर्शन गरेको थियो ।
अहिलेसम्मको आन्दोलनको समीक्षा र आगामी रणनीति तय गर्न संघर्ष समितिको बैठक बस्न लागेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध अबको आन्दोलन निर्णायक हुनेगरी रणनीति तय गरिने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपालले गरेका छन् । दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै आएपनि निर्वाचन आयोगले भने आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन।
पछिल्ला दिनमा दुवै समूहमा शक्ति प्रदर्शनमा होडबाजी चलेको छ । प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ । आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार