
विश्वमा अधिकांश खेलाडी त्रास, तनाव र आर्थिक पक्षका कारण यति बेला समस्यामा छन् भने केही देशमा भने खेलकुद फर्किएकाले ठूलो राहत नै मिलेको छ। कोरोना भाइरसका कारण विश्व महामारीको चपेटामा पर्दा खेलेर जीविका चलाउँदै आएका खेलाडीमा यसको असर पर्नु स्वाभाविकै हो।
कुनै पनि खेलमा समयसापेक्ष खेलाडी उचो लयमा देखिन्छन्, तर विश्व कोरोनाका कारण आक्रान्त हुँदा नजिकिँदै गरेका प्रतियोगिताको तयारी गरिरहेका खेलाडीलाई त्रास, तनाव र आर्थिक विषयले चिन्तित बनाउने गरेको छ। धरैजसो देशका खेलाडी यति बेला घरमै सामान्य अभ्यास गरेर बस्न बाध्य छन्, जुन सामाजिक सञ्जालमार्फत बाहिरिने गरेका पनि छन्। तीन महिनाभन्दा लामो लकडाउनले विश्वस्तरीय स्टारदेखि नेपाली खेलाडीलाई आफ्नो फिटनेस जोगाइराख्न निकै कठिन भएको छ। दैनिक कडा मिहिनेत र प्रशिक्षण गर्ने खेलाडीका लागि लामो समय यत्तिकै बस्नु पक्कै पनि शारीरिक र मानसिक रूपमा कठिन हो।
तथापि धेरैजसो खेलाडी खेलबाट टाढा रहे पनि नियमित अभ्यास गर्दै अनुशासनलाई पालना गरिरहेका छन्। उनीहरूले शारीरिक फिटनेस कुनै पनि अवस्थामा अपरिहार्य रहेको भन्दै सामाजिक सञ्जालमार्फत अभ्यास खेलाडीको पहिचान रहेको पुष्टि गरेका छन्। अस्ट्रेलियन टेनिस संघका मुख्य मेडिकल अधिकृत कारोलियन ब्रोडेरिकको भनाइअनुसार विगतका समयमा देखिएका सार्स, स्वाइन फ्लुलगायतका रोगभन्दा पनि कोरोनाले तनाव र त्रास धेरै देखिएकोले खेलाडीमा नकारात्मक असर देखिनु स्वाभाविकै हो। ‘शीर्ष र ख्याति कमाएका खेलाडीलाई त्रास, तनाव र आर्थिक विषयले सताउँदैन। सामान्य खेलाडीलाई भने यो विषय निकै कठिन हुन सक्छ। ‘केही समय खेलाडीहरू अभ्यासभन्दा टाढा रहँदा फर्किन कठिन हुन्छ,’ ब्रोडेरिकले भनेकी छिन्।
महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणभन्दा बाहिर रहेकाले नेपाललगायत धेरै देशमा अझै पनि खेलकुद गतिविधि अनिश्चित समयका लागि स्थगित भएका छन्, तथापि युरोपियन राष्ट्रलगायत केही देशले महामारी र लकडाउनकै समय खेल गतिविधि फर्काएर ठूलो चुनौती मोलिसके। एसियन राष्ट्र कोरिया र युरोपका ठूलो व्यावसायिक फुटबल जर्मनको बुन्डेसलिगा, स्पेनको लालिगा, इटालीको सिरी ‘ए’ र इङ्लिस प्रिमियर लिगजस्ता खेल सञ्चालन भइरहेका छन्।
नेपालमा पनि गत हप्तादेखि केन्द्रीय प्रशिक्षण त्रिपुरेश्वरको कभर्डहलमा ब्याडमिन्टनको राष्ट्रिय टोलीसहितको प्रशिक्षण सुरु भइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्वास्थ्य प्रोटोकल अपनाएर नेपाली खेलाडी प्रशिक्षण गरिरहेका छन्। केही खेलाडी भने मैदान फर्किने तयारी हुँदा निकै उत्साहित छन् भने केही खेलाडी स्थिति अभैm सामान्य नहुँदा दुःखी देखिएका छन्।







