
भोजपुर । भोजपुर नगरपालिका ३, मा पर्ने ‘बलौटे’ बजार पश्चिमी क्षेत्रको ‘ट्रान्जिट’ विन्दु हो । ११ वर्ष अघिसम्म यो मात्र एउटा पाखो बारी थियो । राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्रयाकले बलौटे पाखोबारीलाई एकाएक बजारमा परिणत गरायो । घरघडेरी खन्नेको लहर चल्यो । धमाधम पक्की घरहरु ठडिए । पसल, स्टोर, होटलहरु एकपछि अर्को गर्दै खोलिए । जग्गाको मोल बढ्यो । करिब १० वर्षको अन्तरालमै बलौटेबजारको आर्थिक समृद्धीले कोल्टे फे¥यो ।
सडकीकरणले एक रोपनीको ७ हजारले पनि बिक्री वितरण गर्न गाह्रो हुने जग्गा अहिले प्रतिरोपनीको ६ लाखसम्म पर्ने गरेको छ
सडकसञ्जालको पहुँचले बलौटे जस्तै धेरै ग्रामिण क्षेत्रको मुहार फेरिएको छ । द्धन्दपछि नयाँ रुप लिएको भोजपुर यतिबेला समृद्धिको बाटोमा अघि बढ्ने क्रममा छ । १० बर्ष अघि बेलायत सरकारको आर्थिक सहयोगमा सदरमुकाम जोड्ने मुख्य सडक निमार्ण भएपछि पुराना बजारहरुले नयाँ रुप लिएका छन् । सडक आसपासका क्षेत्रहरु शहर विस्तार हुन थालेको छ । धनकुटा र खोटाङ जोडिने नारादमुनी थुलुङ राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्ग सडकखण्डहरु कालोपत्रे भएपछि जरायोटार, प्याउली, तिवारीभञ्ज्याङ, दावाँ, बलौटे, श्यामशिला लगायत दर्जनबढी स्थानमा शहरीकरण बढेको छ ।
सडक विस्तारपछि गाउँ–गाउँमा उत्पादित कृषि उपजहरु तराई–मधेश ठुला शहरसम्म पुगेको छ । सडक बनेपछि ढुवानीमार्फत आवश्यक कच्चापदार्थ, किरानाका सामान, ग्याँस, फलामजन्य सामाग्री, हार्डवेयरका सामान सदरमुकाममा सहजै आउछ । सडक आसपासमा नयाँ शहर विकासीत भएको अरुण गाउँपालिका २, चम्पेका सन्तोष राईले बताए । शहरको विकाससंगै गाउँघरमा पनि आर्थिक समृद्धि ल्याएको उनको भनाई छ ।
‘सडक बनेपछि गाउँघरका उत्पादनहरु देशविदेश पुग्न थालेका छन्, आर्थिक बृद्धिमा ठुलो टेवा मिलेको छ’ उनले भने, ‘सडक आएपछि त साना भञ्ज्याङपसलहरु ठुला बजार बनेका छन्, सामान ढुवानी सजिलै हुने भएकाले पहिले जस्तो दिनै माया मारेर टाढाको शहर धाईरहन पर्दैन’
सडक सञ्जालले दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी गर्न सहज भएपछि ०४५ साल यताका भुकम्पले जर्जर बनेका अधिकांश पुराना घरहरु ठुला पक्की बनेका छन् । सडक आसपासका क्षेत्रमा ७ बर्षभित्रै नयाँ बजारहरु बने । यातायातको सुविधा नहुँदा बसाईसराई धेरै हुने गाउँघरहरु सडक सञ्जालको विस्तारसंगै सडक आसपासमै घर निर्माण हुन थालेको अरुण गाउँपालिका ६, जरायोटारका टिकाराम बराईलीले बताए । एक रोपनीको ७ हजारले पनि बिक्री वितरण गर्न गाह्रो हुने जग्गा अहिले प्रतिरोपनीको ६ लाखसम्म पर्ने गरेको उनको भनाई छ । सडक आसपासका क्षेत्रमा हाल व्यापार व्यवसाय र सुविधाका लागि मानिसहरुले घर–टहराहरु बनाउने गरेकाले जग्गाको भाउ आकाशिएको जरायोटार लेगुवाका दिल कुमार राईले बताए । भने, ‘सडक आसपासमा घर बनाएर बस्नेहरुको संख्या बढेको छ, नयाँ शहरबजार विकास हुन थालेका छन्’
सडक आएपछि बिक्री वितरण गर्न गाह्रो हुने जग्गाजमिनको राम्रो मोल पाउन थालेका छन् । स्थानीय कृषिजन्य उपजहरुले पनि सडकले गर्दा राम्रो भाउ पाउन थालेको पौवादुङ्मा गाउँपालिका २, तिवारीभञ्जाङकी सम्झना राईले बताईन् । सडकले स्थानिय बजारको विस्तार भएकाले धेरै मानिसहरुको आयस्तरमा राम्रो सुधार भएको उनले बताईन् । ‘बारी राताम्मे हुनेगरी लटरम्म टमाटर फल्थ्यो, खाएर सकिदैँनथ्यो, किनबेच गर्ने ठाउँ हुदैनथ्यो, बोटैमा कुहेर नष्ट हुन्थ्यो, अहिले सजिलो भाको छ’ उनले सुनाईन्, ‘अहिले गाउँमा होटल बजार खुलेपछि राम्रो भाउमा बिक्री हुन्छ, सिजनमा टमाटर प्रतिकेजी २ सय रुपैयाँसम्म बेच्दै आएकी छु’
सडक आसपासमा होटल व्यावसाय राम्ररी फस्टाएको छ । सडक आसपासमा शहरीकरण बढेपछि आयस्तरमा बृद्धि हुनुको साथै खाद्यान्न र फलफुलको राम्रो बजार छ । मकै, धान, गहुँ लगायत अन्नबाली अलैँची, अम्रिसो, चिराईतो जस्ता नगदेबालीहरु गाउँमै बिक्री हुन थालेपछि सर्वसाधरणको जिवनशैली फेरिएको छ ।








