
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई आउने निर्वाचनसम्म कायम राख्ने प्रस्ताव पेस गरेका छन् ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले उक्त प्रस्ताव पेस गरेका हुन्। बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने उल्लेख छ ।
आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सारेका छन् । उनले ओलीबाहेकका कम्युनिष्टहरुको एकीकरण गर्ने समेत बताएका छन् ।
एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित गरेका छन् ।
यस्तै प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका हुन्।उक्त प्रस्तावमा आउँदो पुस ११, १२ र १३ मा महाधिवेशन गर्ने उल्लेख छ। यस्तै उक्त प्रस्तावमा भदौ मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना छ।
साथै कात्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय महाधिवेशन गर्ने लगाएतका कुराहरु प्रचण्डको प्रस्तावमा उल्लेख छ।







