
नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले केही जिल्लाबाहेक सबै भूगोलमा असार २७ गते राति भएको १० बुँदे सहमति कार्यान्वयन भइसकेको बताएका छन्।
शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठक खानाका लागि स्थगित भएको समयमा पत्रकारहरुसँग बोल्दै भट्टराईले यस्तो भनेका हुन्।
‘१० बुँदे सहमति कार्यान्वयनमा समस्या आएको छ भनिएको छ। तर भूगोलका अधिकांश जिल्लाहरु १० बुँदे अनुसार पुनर्गठित भइसकेका छन्’, उनले भने, ‘लुम्बिनीमा एकमुष्ट कार्यान्वयन भएको छ। कर्णालीमा पनि १० बुँदे कार्यान्वयन भएको छ।’
उनले पार्टीको जनसंगठनहरूमा पनि १० बुँदे कार्यान्वयन भइरहेको बताएका छन्। ‘जनसंगठनमा पनि १० बुँदे कार्यान्वयन हुँदैछ’, उनले भने, ‘देशका सबै भूगोलमा कार्यान्वयन भइरहेको छ। केही जिल्ला र संगठनमा कार्यान्वयनको चरणमा छ।’
उनले लामो समय पार्टीमा आन्दोलन र अन्तरविरोध चलेकाले यसको व्यवहारिक समाधानका लागि समय लाग्ने पनि बताए। ‘लामो समय पार्टीभित्र आन्दोलन र अन्तरविरोधमा सहभागी भएकाले केही व्यवहारिक कठिनाइलाई समाधान गर्दै जान्छौँ’, उनले भने, ‘१० बुँदे अनुसार नै पार्टी एकतावद्ध भएर अगाडि बढ्नेछ।’







