
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई ‘रिजेक्ट’ गर्नुभन्दा राष्ट्र हितको पक्षमा संशोधन गरेर पास गर्नुपर्ने नीति लिएको छ।
शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकका क्रममा एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले एमसीसीलाई ‘रिजेक्ट’ गरेर जाने भन्दा संशोधनसहित पास गर्नु उचित हुने बताए।
एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालमा राजनीतिक भेटघाट तीव्र बनाइरहेका बेला एमालेले संशोधनसहित पास गरेर अमेरिकी अनुदान सदुपयोग गर्नुपर्ने बताएको छ।
‘हामी प्रतिपक्षमा छौँ । त्यसैले पहिलो कुरा त सत्तारुढ गठबन्धनले एमसीसीलाई संसदमा टेबुल गर्नुपर्छ’, भट्टराईले भने, ‘तर उहाँहरु (सत्तारुढ पाँच दलीय गठबन्धन) ले के गर्नुहुन्छ थाहा छैन।’
उनले एमसीसीलाई स्वीकार्नै नहुने पक्षमा एमाले नरहेको बताए। ‘एमसीसीलाई ‘रिजेक्ट’ गर्ने पक्षमा एमाले छैन। हाम्रो त्यो निष्कर्ष होइन’, भट्टराईले भने, ‘एमसीसीलाई राष्ट्रिय हित अनुकुल बनाउनुपर्छ भन्ने हो। हाम्रो पार्टी अहिले पनि त्यही निर्णयमा कायम छ। एमसीसीलाई संशोधनसहित अघि बढाएर अमेरिकी सहयोगको सदुपयोग गर्दा हुन्छ।’







