
नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नयाँ नेतृत्व पाएको छ। कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको चर्को बहस र दवाबकाबीच सभापतिमा पुरानै पुस्ता दोहोरिए पनि पदाधिकारीमा भने नयाँ पुस्ताको सशक्क्त उपस्थिति देखाएको छ। महामन्त्रीमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए।
महाधिवेशन प्रतिनिधिलेपनि कुनै गुट विशेष भन्दापनि व्यक्तित्व हेरेर मतदान गरे। त्यसैलेपनि सभापतिका उम्मेदवार डा.शेखर कोइरालाका समूहबाट महामन्त्रीका उम्मेदवार बनेका गगन थापाले सभापतिमा विजयी बनेका शेरबहादुर देउवाभन्दा धेरै मत ल्याई निर्वाचित बने। विश्वप्रकाश शर्मा पनि अन्तिम समयमा देउवा समूहमा अटाउन नसकेपछि प्रकाशमान सिंहको समूहबाट उम्मेदवारी बने।
सिंहको सानो समूह त्यसमाथि मनोनयन दर्ता गर्ने दिनको निर्णयले शर्माको जित अलिक सहज हुँदैन कि? भन्ने प्रसस्त शंकाहरु उत्पन्न भएको थियो। तर मतदाताले कुनै गुट भन्दापनि व्यक्तित्वको आधारमा शर्मालाईपनि सानदार मतका साथ निर्वाचित गराए।
थापा र शर्माको विजयले कांग्रेसका युवापुस्ता मात्र नभएर समग्र गैरकांग्रेसी पनि उत्साहित भएका छन्। उनीहरुका लागि सामाजिक सन्जालमा बधाईको ओइरो लागिरहेको छ। उनीहरुको विजयले नेपाली समाज र राजनीतिमा तरंग ल्याएको छ।
एक किसिमको आशाको दियो बलेको छ। २०४६ सालको राजनीतिक परिवर्तन पश्चात संसदवादी सबै ठूला दलहरुको पाका नेताको एकछत्र पार्टी कब्जा जस्तो देखिएको नजिरलाई तोड्दै नेतृत्वमै दावी गरेर सफलता हाँसिल गरेका छन्।
थापा र शर्मासँगै कांग्रेसका अन्य पदाधिकारी उपसभापति, सहमहामन्त्रीमा पनि युवा पुस्तानै निर्वाचित भएका छन्। उसभापतिमा धनराज गुरुङ, सहमहामन्त्रीमा जीवन परियार, महालक्ष्मी डिना उपाध्याय निर्वाचित भइसकेका छन्।
सहमहामन्त्रीको अन्य मतपरिणाम आउन बाँकी रहेको छ। तर निर्वाचित हुने कांग्रेसको चौथो पूस्ता अथवा युवा पूूस्तानै उम्मेदवारी रहेकाले युवा पुस्तानै आउनेमा कुनैपनि शंका छैन। यो परिदृश्यले विशेषगरी नेपालका युवा पूस्ता र परिवर्तनका पक्षहरुलाई उत्साहित बनाएको छ।
यो परिणामले कांग्रेसभित्र आमागी वर्ष हुने स्थानीय र संघीय निर्वाचनमा अहिलेका सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने कि निर्वाचनसम्म मात्र गठबन्धन गर्ने विषयमा कांग्रेस दुईधार रहेका छन्। सभापति देउवा समूहका अधिकांश नेता निर्वाचनसम्म नै गठबन्धन गर्ने पक्षमा देखिएका छन्। तर डा.शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डेलगायतका नेताहरु कांग्रेस निर्वाचनमा कसैसँग गठबन्धन गर्ने पक्षमा छैनन्।
बुुधवार सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले आफू पक्षीय महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिने उद्देश्यले राखेको कार्यक्रममा पनि गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाने बताएका छन्। ‘आगामी वर्ष हुने सबै तहको निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नेछ। कम्युनिष्टहरुसँग गठबन्धन गरि निर्वाचन जित्ने कांग्रेसको संस्कार हैन,’ उनले भनेका थिए।
कांग्रेसको यो अधिवेशनमा सभापति शेरबहादुर देउवानै दोहोरिएपनि पार्टीका आमुल परिवर्तन भएको कांग्रेसबारे जानकार जगत नेपाल बताउँछन्। उनका अनुसार गगन थापा,विश्वप्रकाश शर्मा, धनराज गुरुङजस्ता परिवर्तनको एजेण्डा बोक्ने नेताहरुलाई महाधिवेशन प्रतिनिधिले अनुमोदित गर्नु नै परिवर्तनको संकेत दिएका हुन्।
‘उहाँहरुमाथि कांग्रेसको मात्र नभएर समग्र नेपालीहरुको ठूलो अपेक्षा रहेको छ। उहाँहरुले बोकेको परिवर्तनको एजेण्डालाई महाधिवेशन प्रतिनिधिले बहुमतबाट स्वीकृत गरेको छ। त्यसकारण अब अपेक्षा अनुसारको काम गरेर देखाउने जिम्मेवारी रहेको छ,’ नेपालले भने, ‘हिजो उहाँहरु प्रश्न उठाउने ठाउँमा हुनुहुन्थ्यो। अब काम गर्ने ठाउँमा पुग्नुभएको छ।’
राजनीतिक विश्लेषक पुरन्जन आचार्य पनि कांग्रेसलाई बुढाहरुको पार्टी भनेर लगाइने आरोप हटेको बताउँछन्। कांग्रेसमा विगत १० वर्षदेखि पार्टीमा युवाहरुले नेतृत्वको दावी गरेपनि अहिले मूर्त रुप लिएको उनको तर्क रहेको छ।
‘विगत १० वर्षदेखि कांग्रेसमा युवाहरुले पार्टीको यथास्थितिवादी विरुद्ध संघर्ष गरिराखेको थियो। अघिल्लो महाधिवेशनमा गगन थापाले महामन्त्रीमै उम्मेदवारी दिए। तर परिणाम आउन सकेन। अन्ततः १४ औँ महाधिवेशनमा गगन थापासँगै विश्वप्रकाश शर्मा,धनराज गुरुङ, जीवन परियार कार्यकारी पदमा आएको छ।समग्रमा यो पार्टी अब युवाहरुको भइसक्यो,’ आचार्यले भने।







