
भोजपुर । शिक्षाको ज्योतीले बालभविष्य कोर्ने शिक्षक एक समाज रुपान्तरक पात्र हो । सहि गलतलाई पहिल्याएर जिवनदर्शन दिने तिनै शिक्षक सामाजिक प्रतिष्ठावान व्यक्तित्व पनि हो । शिक्षण पेशा आँफैमा समयनिष्ठ र कडा मेहनतको पेशा हो । हाम्रो समाजमा केहि यस्ता व्यक्तित्व पनि छन्, जो विद्यार्थीलाई ज्ञानको ज्योती छर्ने मात्र हैन सामाजिक भलाईका लागि कल्याणकारी काम गर्ने पनि छन् । तीमध्ये एक समाजसेवी व्यक्ति हुन्, श्री पञ्चकन्या आधारभुत विद्यालय याकुकी शिक्षिका प्रतिमा पोखरेल ।
सामाजिक अभियन्ताका रुपमा अघि बढेकी पोखरेल शिक्षण पेशासंगै सामाजिक काममा पनि उत्तिकै तल्लिन रहन्छिन् । उनको दैनिकी भनेकै दिउँसो शिक्षण र बिहान बेलुकी सामाजिक काम हो । उनकै प्रयासमा २०७३ सालबाट भोजपुरका विभिन्न सामुदायिक विद्यालयका अभिभावकविहिन २७ जना बालबालिकालाई पोसाक, शैक्षिक सामग्री र आफ्नो पारिश्रामिकबाट छात्रवृत्ति वितरण गर्दै आएकी छिन् । साथै शिक्षिका पोखरेलले केहि बेसहारा बृद्ध महिलालाई मासिक भत्ता समेत दिँदै आएकी छिन् ।
यस्तै उनले गत २०७८ पौष १ मा भोजपुर नगरपालिका ९ स्थित बहिरा आवासीय आधारभूत विद्यालयका ३ जना फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिन् । यस्तै गत ७ गते आँफैले शिक्षण गर्ने उक्त विद्यालयका ७० छात्रालाई जनही २ जोरका दरले २२०० सय रिबन वितरण गरिन् । साथै उनले लिखित प्रतियोगिता गराई पहिलो, दोश्रो, तेश्रो हुने विद्यार्थीलाई २५०० को उत्प्रेरणा पुरस्कार वितरण गरेकी विद्यालयका प्रधानाध्यापक जित बहादुर लिम्बुले बताए । उनको सह्रानीय कामले विद्यार्थीमा नयाँ उर्जा थपिदिएको उनले बताए ।








