आमचोक गाउँपालिकाले घर बनाईदिँदा दंग, विपन्नले पाए आश्रय

  सिलिचुङ सम्बाददाता

 

गाउँपालिकाले बनाईदिएको आफ्नै आवासमा आमचोक गाउँपालिका थिदिंखाका ७३ वर्षिय कानबहादुर राई । तश्विर

 

भोजपुर । आमचोक गाउँपालिका ३, थिदिंखाका नरबहादुर विश्वकर्मा र उनकी पत्नी विमलाको जायजेथाको नाममा एक त्यान्द्रा ओड्ने छानो समेत छैन । उनीहरु वर्षौँदेखि दाजु भक्त बहादुर विकको घरमा आश्रय लिँदै आएका छन् । एक छाक टार्न दुवैजना दिनभर अरुको ज्यालामजदुरी र मेलापात गर्छन् । सुकुम्बासी जस्तो जिवन काटिरहँदा वरपरका छिमेकीले हेर्ने, गर्ने व्यवहार र दृष्टिकोण पनि निच र फरक हुन्छ । तर अब उनीहरु नयाँ घर पाएका छन् । गाउँपालिकाले ल्याएको ’विपन्न जनताआवास कार्यक्रम’ ले उनीहरुले सुकुम्बासी जिवनबाट छुट्कारा पाएका छन् ।

नेपाल सरकारले सबै क्षेत्रमा जनता आवासको कार्यक्रमबाट धमाधम अगाडी बढाइरहेका बेला भोजपुरको आमचोक गाउँपालिकाले पनि स्थानीयस्तरमै जनतालाई लाभ दिने कार्यक्रम ल्याएको हो ।

‘अर्काको घरमा सुकुम्बासी जस्तो बस्ने जिन्दगी गए, गाउँपालिकाले हामीमाथि कृपा गरेको छ’ विमलाले सम्झिईन्, ‘न जग्गा न पैसा, सधैँ अरुकोमा बस्दा छिमेकी हेप्दा मन दुख्थ्यो, सधैँ अरुकै हारगुहार गरियो, अब छैन’ बर्षौँदेखि बेघर र बेसहारा गरिबीले थलिएका नरबहादुर र विमला आफु र छोराछोरीको पेट भर्न दिनभर मजदुरी गर्नुपर्छ । दाजु भक्त बहादुरले घर बनाउन दिएको केही रोपनी पाखो जग्गामा गाउँपालिकाले एकतले आरामदायी भुकम्पप्रतिरोधी घर बनाईदिएको थियो ।
जनता आवास कार्यक्रम अन्र्तगत आमचोक गाउँपालिकाले आफ्ना क्षेत्रका ७० बढि विपन्न परिवारको घर बनाईदिएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी एक परिवारका लागि तीन लाख रुपैयाँ खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । ‘हामीले पुस्तौंदेखि पाल, गाईगोठमा बसिरहेका अति विपन्न परिवारको लागि आवास बनाइदिएका छौं’, अध्यक्ष राईले भने, ‘राज्यले पनि गाँस, बाँस र कपासलाई मौलिक हकमा राखेको छ, सोहि अनुरूप हामीले नीति तथा कार्यक्रम नै बनाएर घर बनाईदिएका छौँ’
गत ०७४ भदौमा पहिलो गाउँसभाबाट गाउँपालिकाभरका गरिब, विपन्न घरधुरीको पहिचानपछि गाउँपालिकाले आवास बनाईदिने गरि कार्यक्रम ल्याएको थियो । आवास पाएपछि नागरिक पनि दंग देखिन्छन् । ‘वर्षौँदेखिको आफ्नै घरमा निदाउन पाउने सपना आज साकार भयो ।’ अर्का ७३ वर्षिय कानबहादुर राईले भने, ‘यो भन्दा खुशीको विकल्प अरु छैन ।’
टिनको छानाले छाएको घरलाई ‘मेरो घर’ भन्न पाउँदा अर्का आमचोक गाउँपालिका वडा नं २ यूँका जिदर शेर्पाले हर्षित छन् । भने, ‘गरिबीले गर्दा कहिल्यै घर बनाउन सकिएन । विहानबेलुकी हातमुख जोर्न गाह्रो भएको बेला यति राम्रो घर पाएपछि आफ्नो घर भन्न पाउँदा सपना जस्तै लागेको छ ।’
आमचोक गाउँपालिकाले आफ्नो पहिलो गाउँसभाबाट गाउँपालिका क्षेत्रभित्रका विपन्न, असहाय, एकल महिला, पिछडिएका अल्पसंख्यक र दलित वर्गलाई लक्षित गरेर कार्यक्रम ल्याएपछि गरिबहरु, असहायहरुलाई ओत लाग्ने छहारी मिलेको छ । स्थानीय सरकार बनेपछि आएको जनता आवासले गरिबका लागि स्वर्गको अनुभुति गराएको आवास पाउनेमध्ये अर्का आमचोक गाउँपालिका ६, देवानटारका जसकुमार राईले सुनाए । ‘गरिबका लागि आफ्नो घर पाउनु स्वर्ग पाए जस्तै भएको छ । सधै पानी चुहिने, कठ्याङ्ग्रीने झुपडीबाट न्यानोमा ल्याईदियो ।’ राईले सुनाए ।
नेपाल सरकारले सबै क्षेत्रमा जनता आवासको कार्यक्रमबाट धमाधम अगाडी बढाइरहेका बेला भोजपुरको आमचोक गाउँपालिकाले पनि स्थानीयस्तरमै जनतालाई लाभ दिने कार्यक्रम ल्याएको हो । गाउँपालिकाभित्रका कमजोर आयश्रोत भएका ५ अति गरिब तथा विपन्न परिवारलाई घर बनाईदिने घोषणा गरेको छ । गाउँपालिकाले आफ्नो पहिलो गाउँसभाबाट विपन्न जनता आवास कार्यक्रम शिर्षकमा ३ लाख ६० हजारका दरले ५ वटा आवास निर्माण गर्न कुल १८ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले गरिब तथा विपन्न परिवार लक्षित फुसको छानो हटाउने अभियानका साथै ’एक घर, एक धारा’ अभियान पनि चलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार