यूएईलाई जिते नेपाल विश्वकपमा

काठमाडौं । नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर ‘ए’मा क्यानडालाई ८ विकेटले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको छ । सोमबार कुशल भुर्तेल र दीपन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्नुका साथै सन्दीप लामिछानेको तीन विकेट लिएको खेलमा नेपालले सानदार जित निकालेको हो ।

 

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो । ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।

 

समूहको अन्तिम खेल विजय हासिल गरेसँगै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपालले अब फाइनल प्रवेशका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ । यूएई सोमबारै समूहको अन्तिम खेलमा बहराइनसँग पराजित भए पनि रनरेटका आधरमा सेमिफाइनल पुग्न सफल भएको हो ।

 

समूह ‘ए’बाट आयरल्यान्डले विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । आयरल्यान्डले फाइनल प्रवेशका लागि ओमानविरुद्ध खेल्नेछ । ओमानले आजै सम्पन्न अर्को खेलमा फिलिपिन्सलाई ९ विकेटले पराजित गरेको थियो ।

 

मंगलबार हुने सेमिफाइनलमा यूएईलाई पराजित गरेमा नेपालले अस्ट्रेलियामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छ । विश्वकप १६ अक्टोबरदेखी १३ नोभेम्बरसम्म हुनेछ । ग्लोबल क्वालिफायर ‘ए’बाट फाइनल खेल्ने दुई र जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायर ‘बी’बाट फाइनल खेल्ने दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार