लिभरपुललाई नवौंपल्ट लिग कप

लन्डन — लिभरपुलले आइतबार नाटकीय रूपमा चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै लिग कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा भएको फाइनलमा १ सय २० मिनेट गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा लिभरपुल ११–१० ले विजयी रह्यो । चेल्सीका गोलरक्षक केपा एरिजाबालागा निर्णायक पेनाल्टीमा गोल गर्न चुके । सन् २०१२ यता योर्गन क्लोपले इंग्लिस नकआउट उपाधि जितेको यो पहिलोपल्ट हो ।

 

लिभरपुलले लिग कप जितेको यो कीर्तिमान नवौंपल्ट हो । केपाको प्रहार पोस्ट माथिबाट बाहिरियो । यो नै टाइब्रेकरमा गोल हुन नसकेको एकमात्र प्रहार रह्यो । त्यसलगत्तै लिभरपुल गोलरक्षक कोएमिन केहेलरले पेनाल्टीमा गोल गर्न सफल रहे । पेनाल्टी विशेषज्ञ गोलरक्षकका रूपमा केपालाई अतिरिक्त समयको खेलमा एडुवार्डो मेन्डीको स्थानमा मैदान पठाइएको थियो । तर उनी लिभरपुलका कुनै पनि प्रहार रोक्न असफल रहे ।

 

निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेलमा दुवै टिमले पर्याप्त एकपछि अर्को सिर्जना गरे पनि कुनै निर्णायक हुन सकेन । उपाधि चुकेपछि लिभरपुल कप्तान जोर्डन हेन्डरसनले निकै कठिन जित रहेको प्रतिक्रिया दिए । उनले भने, ‘कुनै पनि उपाधि जित्नु आफैंमा ठूलो उपलब्धि हो, तर पेनाल्टीमा खेल गएपछि त्यो गाह्रो परिस्थिति नै हुन्छ । हामीले १० वर्षपछि कप उपाधि जितेका छौं, त्यसैले पनि यो विशेष रहेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार