
पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूले रुसी अर्थतन्त्र प्रभावित हुन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ४० प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । त्यस्तै, युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्य वृद्धि भएको छ ।
रुसका प्रमुख सहरहरूमा बैंक तथा वित्तीय संस्थाका एटीएम बाहिर मानिसहरूका ठूला लाइन देखिएका छन् । रुसी सरकारले सीमा तोक्न सक्ने आशंकापछि मानिसहरू नगद निकाल्नका लागि एटीएम बुथमा जम्मा भएका हुन् । युरोपेली संघ (ईयू) को प्रतिबन्धपछि रुसी स्वामित्वका बैंकहरूले युरोपमा काम गर्न बन्द गरिसकेको जनाइएको छ । रुसको केन्द्रीय बैंकमाथि प्रतिबन्ध लगाइएका कारण उसले करिब ६ सय ३० अर्ब डलर विदेशी मुद्रा सञ्चिति प्रयोग गर्न पाउँदैन । ऊर्जा क्षेत्रबाट रुसले युरोपेली संघका सदस्य राष्ट्रहरूबाट राम्रो आम्दानी गर्छ । तर युक्रेनमाथि रुसी अतिक्रमणपछि ईयूले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएको छ ।
ईयू नेताहरूले रुसी केन्द्रीय बैंक र आफ्नो हवाई क्षेत्रमा रुसी विमानको उडानमाथि प्रतिबन्ध लगाएका छन् । त्यसका साथै हातहतियार किन्ने र युक्रेनलाई पठाउने निर्णयसमेत गरेका बीबीसीले जनाएको छ । यद्यपि, ईयूले हालसम्म ऊर्जा आपूर्ति भने रोकिसकेको छैन ।
अधिकांश युरोपेली देशमा ऊर्जाको मूल्यमा व्यापक वृद्धि भएको छ । त्यसमाथि रुसले आपूर्ति कम गर्नासाथ महँगीले आकाश छुने निश्चित छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ऊर्जा आपूर्ति रोकेर वा घटाएर ईयूलाई जवाफ दिन सक्छन् ।
अर्थतन्त्रमा असर पर्न सक्ने देखिएपछि रुसको केन्द्रीय बैंकले सबै विदेशी कानुनी संस्था तथा व्यक्तिलाई सेयर तथा रुसमा गरिएको लगानी बिक्री गर्न रोक लगाएको छ । बैंकले विनिमय तथा मुद्रा बजारबाहेक मस्को सेयर बजार खोल्ने वा नखोल्नेबारे अझै निर्णय गरिसकेको छैन । बेलायतस्थित बहुराष्ट्रिय कम्पनी बीपीले ठूलो रुसी तेल कम्पनी रोज्नेफ्टमा रहेको आफ्नो करिब २० प्रतिशत सेयर अन्यत्र लैजान लागेको जनाएको छ । तर रुसको केन्द्रीय बैंकले सेयर बिक्रीका लागि रोक लगाएका कारण तत्काल यो सम्भव नहुने देखिएको छ ।







