एमसीसीबारे एमाले : संसदबाट अनुमोदनको स्वागत, व्याख्यात्मक घोषणाको विरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी आर्थिक परियोजना एमसीसी संघीय संसदबाट अनुमोदन गरिएकोमा घुमाउरो भाषामा स्वागत गरेको छ।सरकारले प्रक्रियागत त्रुटी गरे पनि संसदबाट पारित गरिसकेकाले अब एमसीसी सम्झौतालाई कार्यान्वयनमा लैजानुपर्ने कुरा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका हुन्।

 

‘एमसीसी सम्झौता संसदलाई पनि झुक्याएर अघि बढाइयो। यसलाई अघि बढाउँदा त्रुटी भएको छ’, उनले भने, ‘तर अब यसलाई कार्यान्वयनमा लैजानुको विकल्प छैन। कार्यान्वयन गर्दा अब हामी राष्ट्रिय हित, देशको स्वाभिमानको पक्षमा ध्यान दिनु आवश्यक छ।’

 

तर ओलीले एमसीसी सम्झौता संसदबाट पारित गर्दा सत्ता गठबन्धनले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको भने चर्को विरोध गरेका छन्। उनले यसलाई सत्ता गठबन्धनको जनता झुक्याउने ठगी धन्दा भनेका छन्।

 

‘सत्ता गठबन्धनको १२ बुँदे व्याख्यात्मक घोषणा जनतालाई अलमल्याउने र झुक्याउने ठगी धन्दा मात्रै हो। यसले कुनै किसिमको कानुनी र संवैधानिक हैसियत राख्दैन’, उनले भने, ‘एमसीसीबारे अमेरिकासँग द्विपक्षीय सम्झौता भएको हो। एक पक्षीय घोषणाको कुनै अर्थ हुँदै। यो जनतालाई छारो हाल्ने काम मात्रै हो।’

 

उनले एमसीसीले समेत मान्यता नदिने व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको पनि बताएका छन्।  फागुन १५ गते दुई चरणमा बसेको प्रतिनिधि सभाको बैठकले एमसीसी र व्याख्यात्मक घोषणा दुवैको अनुमोदन गरेको थियो।

तर एमालेले भने संसद बैठकमा अवरोध गरेको थियो। एमाले अवरोधबीच सांसद भीम रावलले एमसीसीको विरोधमा मन्तव्य राखेका थिए। ओलीले एमसीसी अनुमोदनका क्रममा एमालेलाई छलफलबाट बञ्चित गराइएको गुनासो पनि गरेका छन्।

 

‘एमसीसी अनुमोदनसँगै निहीत स्वार्थसहित चालिएका चाल र चलाइएका प्रचारबाजीको पटाक्षेप भएको छ’, अध्यक्ष ओलीले भनेका छन्। ओलीले एमसीसी सम्झौता जनतालाई थाहा दिनैका लागि संसदमा लगिएको पनि बताए। तत्कालीन नेकपा हुँदा ओली नेतृत्वकै सरकारले एमसीसीलाई संसद सचिवालयमा दर्ता गराएको थियो।

 

‘जनतालाई थाहा दिन एमालेले एमसीसी सम्झौता संसदमा लग्यो। खुसुक्क लागु गर्न सकिने कुरालाई राष्ट्रिय महत्वको विषय बनायो भनेर आलोचना गरिएको छ’, उनले भने, ‘अहिले निर्लज्ज रुपमा हल्ला चलाइयो। ओली सरकारले संसदमा पेश गरेर गल्ती गर्यो भने। प्रदीप ज्ञवाली अमेरिका गएर यसलाई आईपीएसको अंग बनाइयो भनेर हल्ला चलाइयो।’

 

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतिर लक्षित गर्दै उनले अफवाह फैल्याएको पनि बताएका छन्।  ‘हामीले हिजो प्रमुख पार्टीका प्रमुख नेताको वक्तव्य सुन्यौँ । अमेरिका भन्छ आईपीएसको अंग होइन। उनीहरुको व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन। एमसीसीलाई सहज र स्वस्थ ढंगले पास गर्न सकिन्थ्यो’, उने भने, ‘ राजनीति नगरी अघि बढाउन सकिन्थ्यो। देशमा हुँडलो मच्चाउन खोज्ने र देशमा मतभेद बढाउन खोज्ने काम भयो। साकाहारी आन्दोलनले भएन, अब जंगल जानुपर्छ भन्ने धाक धक्कुसमेत दिइयो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार