आईएसएल खेल्ने पहिलो नेपाली

काठमाडौँ — राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली फुटबलर भएका छन् । उनी इस्ट बंगालको पहिलो रोजाइमा रहेर बेङ्लुरु एफसीविरुद्ध शनिबार खेलेका थिए ।

 

२४ वर्षीय अनन्तले तिलक मैदान गोवामा पूरा समय खेल्ने अवसर पाए । उनकै गल्तीमा २४ औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरेपछि खेल बेङलुरुले १–० ले जित्यो । दुवै क्लबका लागि आईएसएल २०२१–२२ सिजनको अन्तिम खेल पनि हो यो । यस नतिजासँगै बेङलुरु २९ अंकसहित छैटौं भयो भने इस्ट बंगाल (११ अंक) अन्तिममा (११ औं) रह्यो । एक खेल कम खेलेका जम्सेदपुर (४० अंक) र एटीके मोहन बगान (३७) शीर्ष दुईमा छन् ।

 

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ का चार खेल बाँकी छँदा थ्रीस्टारबाट ‘रिलिज’ लिँदै कोलकाताका महारथी इस्ट बंगालमा आईएसएलको माघ २८ मा आबद्ध भएका थिए । त्यसबेला आईएसएलको इस्ट बंगालको ४ बाँकी थियो । तर, उनी ढिला गरी गोवा (आईएसएल भइरहेको स्थान) पुगेपछि क्वारेन्टाइन टुंग्याउँदा दुई खेलका लागि मात्रै उपलब्ध भए ।

 

नर्थ इस्ट युनाइटेडविरुद्ध फागुन १६ मा १–१ भएको खेलमा उनी टिममै थिएनन् । स्पेनी प्रशिक्षक मारियो रिभेराले सिजनको अन्तिम खेलमा भने सुरुमै खेलाए, पूरा समय अवसर दिए । त्यसैले अनन्त सन् २०१४ मा सुरु हुँदै विश्वमै चर्चा पाएको आईएसएल खेल्ने पहिलो नेपाली भएका हुन् । अब उनी नेपाल सुपर लिग (एनएसएल) को लागि स्वदेश फर्किने छन् । यसमा उनी एफसी चितवनमा ‘मार्की’ खेलाडी हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार