युक्रेनी राष्ट्रपतिको गुनासो : नेटो र इयुले आश्वासन मात्रै दिए, संकटमा सघाएनन्

युक्रेनमा रुसले आक्रमण गरेको मंगलबार १३ दिन भएको छ। आफूलाई अफ्ठ्यारो पार्ने गरी उत्तर एटलान्टिक सन्धि संगठन र युरोपियन युनियनमा मिसिन लागेपछि रसियाले युक्रेनमाथि थालेको आक्रमण लामो समय जाने देखिएको छ।

 

यस्तोमा रुसले दर्जन बढी सहर कब्जा गरिसकेको अवस्थामा मंगलबार एक अपील निकाल्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पश्चिमा देशमाथि अनेक आरोप लगाएका छन्। रुससँग तीन चरणसम्म भएको वार्तामा सहमति जुट्न नसकेको अवस्थामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पश्चिममा मुलुकले संकटमा साथ नदिएको गुनासो गरेका हुन्। ‘हाम्रो यो मुस्किल अवस्थामा पनि पश्चिमा देशहरुले कुनै मद्दत गरेनन्, वाचा मात्रै गरे’, उनले भने, ‘सहयोगको वाचा पूरा नगरेर हामीलाई संकटमा धकेलिदिए।’

 

उनले नेटोमा आवद्ध अमेरिकासहित ३० देशमाथि पनि निशाना साँधेका छन्। ‘नेटो देशले पनि सहयोगको आश्वासन मात्रै दिए। तर कुनै सहयोग गरेनन्’, उनले भनेका छन्, ‘हामी मद्दतका लागि गुहार लगाइरहेका छौँ। भोलि अर्को देशले गुहार लगाउलान् तर नेटोले केही गर्ने देखिएन।’

 

रसियाले आक्रमण गरेपछि युक्रेनले नेटो र युरोपियन युनियनबाट खास सहयोग मिल्ने अपेक्षा गरेको थियो। तर युक्रेनले आफ्नो आकाशमाथि नो फ्लाई जोन घोषणा गर्न गरेको अपीललाई पनि अन्य देशले बेवास्ता गरिदिएका छन्।

 

उनले जारी गरेको अपीलमा युक्रेन अहिले केबल बाँच्न पाउने अधिकारका लागि लडिरहेको पनि बताएका छन्।  ‘हाम्रा सैनिक पनि यहाँका जनताको अधिकार बचाउन संघर्षरत छन्’, उनले भनेका छन्, ‘रुसी सैनिकले युक्रेनका कयौँ स्कुललाई पनि निशाना बनाएका छन्। मानव वस्तीमाथि पनि बम हानिएका छन्।’

जेलेन्सीकले यस भीषण युद्धका क्रममा एकजना बालिकाको पानी पिउनै नपाएर ज्यान गएको पनि बताएका छन्। यो घटना म्यारीपोल सहरमा भएको उनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार