वीरगञ्जका मेयर विजय सरावगी एमाले प्रवेश

मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन्।

 

उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएको एमाले पर्साका अध्यक्ष प्रभु हजाराले जानकारी दिए। उनले मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको जानकारी दिए।

 

जिल्ला अध्यक्ष हजाराका अनुसार ओलीले नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य बाबुराम कौशिक र युवा संगठन वाईसीएलका पर्सा इन्चार्ज ओमप्रकाश गुप्तालाई पनि पार्टीमा भित्र्याएका छन्।

 

सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीलाई १ सय ९६ मतले पराजित गरेका थिए।

 

सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका द्विवेदीलाई १९ हजार एक सय ९७ मत ल्याएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महानगर प्रमुखमा उठेका सिंह १२ हजार १ सय ६५ मतका साथ तेस्रो भएका थिए।

 

गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुख मेयर पदका एमालेबाट बसरुद्धिन अन्सारी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए।

 

चौथो भएका लोकतान्त्रिक फोरमका श्रीवास्तवले ८ हजार ७ सय १, पाँचौँ भएका एमालेका अन्सारीले ८ हजार ६ सय ८८ र छैटौँ भएका माओवादी केन्द्रका रहबर अन्सारीले ८ हजार ३ सय ५ मत पाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार