अमेरिकाले युक्रेनलाई सयभन्दा धेरैवटा घातक ड्रोन सहयोग गर्ने भएको छ। रुसले युक्रेनमा गरिरहेको आक्रमणक प्रतिकारका लागि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेको हो।
बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेको सैन्य सहयोगअन्तर्गत युक्रेनलाई स्विचब्लेड ३०० मोडलको ड्रोन उपलब्ध गराउन लागिएको हो। अमेरिकी समाचार एजेन्सी एपीले दिएको जानकारीअनुसार निश्चित बिन्दुमा निशाना लगाएर प्रहार गर्न यस्ता ड्रोन निकै उपयोगी हुन्छन्।
समाचारमा उल्लेख गरिएअनुसार अहिले अमेरिकाले दिन लागेको ड्रोनले एक माइलभन्दा पनि टाढाबाट प्रहार गर्न सक्छन्। समाचारमा उल्लेख गरिएअनुसार स्विचेबल ड्रोनहरु एकपटक मात्र प्रयोग गर्न मिल्छ।
मूल्यका हिसाबमा भने यस्ता ड्रोन अन्य मिसाइलभन्दा सस्तो हुन्छ। यी सबै ड्रोनको समग्र मूल्य ६ हजार डलरभन्दा पनि कम रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
यो मोडलका ड्रोन नेटोमा आबद्ध केही युरोपेली मुलुकमा रहेकाले उक्त मुलुकबाट ड्रोनहरु युक्रेन पठाइनेछ।