रुसले युक्रेनमा आक्रमण गरेको २४ दिन बितिरहँदा पहिलोपटक अत्याधुनिक किन्जल हाइपरसोनिक मिसाइल प्रहार गरेको छ। किन्जल रुसले निर्माण गरेको सबैभन्दा पछिल्लो अत्याधुनिक हाइपरसोनिक मिसाइल हो।
सन् २०१८ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त अत्याधुनिक मिसाइल प्रयोगमा ल्याइएको घोषणा गरेका थिए। उक्त मिसाइल ध्वनीको गतिभन्दा १० गुणा बढी उड्न सक्ने बताइएको छ।
पुटिनले उक्त मिसाइललाई अत्यन्त सशक्त र मजबुत हतियारको संज्ञा दिएका थिए। रुसले २४ दिनयता युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ। युक्रेनले अमेरिका नेतृत्वको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य बन्ने प्रयास गरेपछि छिमेकी रुस चिढिएको हो।
रुसले युक्रेनका लुहान्सक र डोनेत्सक क्षेत्रलाई स्वतन्त्र मुलुकको मान्यता दिएको थियो। ती क्षेत्रलाई रुस समर्थित समूहले नियन्त्रणमा लिइसकेका छन्। युक्रेनले लुहान्सक र दोनेत्सक क्षेत्र आफ्नो सार्वभौम भूमि भन्दै आएको छ। उता रुसले ती क्षेत्रका जनताले जनमत संग्रहमार्फत नै युक्रेनबाट अलग्गिन चाहेको बताएको छ। रुसले युक्रेनमाथि हमला गरिरँहदा युक्रेनलाई अमेरिका लगायत पश्चिमा मुलुकले अत्याधुनिक हतियार र नैतिक समर्थन दिइरहेका छन्। पश्चिमा मुलुकले रुसको सैन्य हमलाको निन्दा गर्दै उसमाथि कडा आर्थिक नाकाबन्दी लगाइसकेका छन्।