नेपालले जित्याे जिम्बावे एविरुद्धको एकदिवसीय क्रिकेट सिरिज, कुशल र महतोको उत्कृष्ट प्रदर्शन

नेपालले जिम्बावे एविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । सोमबार भएको सिरिजको तेस्रो खेल जितेसँगै नेपालले २–१ ले सिरिज जितेको हो । सोमबार ३३ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर जिम्बावे एलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । उसले दिएको २१४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । ३२ ओभर १ बलमा अलआउट भएको जिम्बावे एले २१३ रन बनाएको थियो ।

 

जवाफी ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । उनले ६१ बलमा ८४ रन बनाउने क्रममा ४ छक्का प्रहार गरेका थिए । पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखबीच ७३ रनको साझेदारी भएको थियो ।

 

ओपनरले उत्कृष्ट सुरुवात दिलाएको खेलमा दिपेन्द्रसिंह ऐरीले फिनिसिङ टच दिए । उनले ४३ बलमा नटआउट ६० रन बनाए । यस्तै, आसिफ शेखले २९ रन बनाए भने विनोद भण्डारी २८ रनमा नटआउट रहे ।

 

यसअघि किशोर महतोले ५ विकेट लिएपछि विशाल स्कोरतर्फ लम्किएको जिम्बावे ए मध्यम स्कोरमा रोकिएको थियो । घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्रको ए टिमसँग नेपालले पहिलो पटक एकदिवसीय सिरिज खेलेको थियो । र, पहिलो सिरिजमै नेपालले जित हात पारेको हो । यसअघि तीन खेलको टी–२० सिरिज एक/एकको बराबरी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार