![]()
काठमाडौँ — सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा चाउचाउ तथा बिस्कुट उद्योगलाई लक्षित गर्दै पाम आयल र पामोलिनमा भन्सार छुटको घोषणा गऱ्यो । बजेट घोषणाअनुसार १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा अब उद्योगहरुले उद्योग विभागको सिफारिसमा ५ प्रतिशत महसुल तिरेर पाम आयल र पामोलिन आयात गर्न पाउने भए । जबकि स्वदेशी तेल उद्योगले कच्चा पाम तेल ल्याउँदा नै १० प्रतिशत भन्सार महसुल बुझाउनुपर्छ । चाउचाउ तथा बिस्कुट उद्योगका लागि प्रशाेधित पाम तेल कच्चा पदार्थ भएकाे भन्दै सरकारले बजेटमार्फत स्वदेशी उद्योग प्रवर्द्धनका नाममा भन्सार शुल्क घटाइदियो ।
यो व्यवस्थाले अब अवैध रुपमा प्रशाेधित तेल नै आयात भई स्वदेशी उद्याेग समस्यामा पर्ने घिउ तेल उत्पादक संघको भनाइ छ । आफूहरुले कच्चा पाममा नै १० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने तर केही उद्योगलाई लक्षित गर्दै प्रशोधित पाम तेल नै ५ प्रतिशत भन्सार महसुलमा ल्याउन पाउने व्यवस्थाले स्वदेशी तेल उद्योगलाई धरासयी बनाउने तेल उत्पादक संघको भनाइ छ । सरकारको यो व्यवस्थाले प्रशोधित तेल सस्तो भई आयात बढ्ने र स्वदेशी उद्योगलाई लागत महँगो पर्न जाँदा आफूहरुले प्रशोधित गरेको तेल बिक्री गर्न समस्या हुने उनीहरुको बुझाइ छ ।
तयारी वस्तुको आयातभन्दा कच्चा पदार्थको आयातमा लाग्ने भन्सार महसुल एक तह कम गर्ने सरकारी नीतिलाई यो व्यवस्थाले विरोधाभाष गराएको तेल उत्पादक संघको भनाइ छ । विज्ञप्ति जारी गर्दै घिउ तेल उत्पादक संघले भनेको छ ‘स्थानीय उद्योगलाई बढावा दिने र तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने सरकारी नीतिकै विरोधाभाष समेत हो ।’ यो व्यवस्था तत्काल फिर्ता लिन अन्यथा स्वदेशी उद्योग बन्द हुने चेतावनी संघले दिएको छ ।
तर चाउचाउ उत्पादक संघको फरक मत छ । तेल उत्पादक संघको विज्ञप्तिपछि फेरि चाउचाउ उत्पादक संघले विज्ञप्ति जारी गर्दै सरकारले चाउचाउ उद्योगलाई सहुलियत दिँदैमा अरु उद्योगले विरोध जनाउनु ठीक नहुने जनाएको छ । स्वदेशमा मात्रै सीमित नभई विदेशमा समेत चाउचाउ निर्यात हुने गरेको जनाउँदै संघले भनेको छ ‘नेपाली चाउचाउ उद्योगले के कति समस्या झेल्नुपरेको छ, त्यसप्रति उहाँहरुले कहिल्यै चासो देखाउनुभएको छ ? विगत १० वर्षमा धेरै वटा उद्योग बन्द भइसकेका छन्, अहिले सरकारले स्वदेशी उद्योगलाई सानो सहयोग गर्दा यसरी टिकाटिप्पणी हुनुमा हामी आफै चकित भएका छौं ।’
चाउचाउका लागि चाहिने मैदा, मसला, र्यापर, कार्टुन लगायत ७५ प्रतिशत कच्चा पदार्थ स्वदेशमा नै खरिद हुने गरेको जनाउँदै संघले तेल उत्पादक संघले गलत मनसायले विज्ञप्ति निकालेको जिकिर गरेको छ । आफूहरुले आयात गर्ने पाम तेल र पामोलिन ठूलो मात्रामा नहुने र उद्योग विभागको सिफारिसमा हुने भएकाले यसमा तेल उत्पादक संघले विरोध जनाउनु औचित्यहीन रहेको चाउचाउ उत्पादक संघको भनाइ छ ।







