किन आउँछ गिजाबाट रगत ?

गिजाबाट रगत बग्ने समस्याले धेरैलाई सताएको हुन्छ । सामान्यतया तथा कहिलेकाहीँ कडा ब्रसले दाँत माझ्दा, जुन पायो त्यही मञ्जनले दाँत माझ्दा, गिजामा चोटपटक लागेमा रगत आउन सक्छ । त्यस्तै धेरै चिसो, अनि तातो खानेकुरा खाँदा, केही रासायनिक औषधि आदिको प्रयोगले पनि गिजाबाट रगत आउँछ । यद्यपि यी बाहेक अन्य समस्याका कारण गिजाबाट रगत आएमा सामान्य मान्न नहुने विशेषज्ञहरु बताउँछन्

 

सर्जिकल ओन्कोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष  तथा सर्जन डा. प्रकाशराज न्यौपानेले क्याक्टेरियाको सङ्क्रमणले मुखमा इन्फेक्सन भई गिजा सुनिने बताउँछन् । दाँत कीराले खानु, गिजा सुनिनु, रगत आउनु, पाक्नु आदि दाँतका समस्या हुन् । यद्यपि गिजाबाट रगत आउनु दन्तहर्ष हो । यो रोग दाँतसँग मात्रै सम्बन्धित नभएर शरीरका अन्य संवेदनशील अंगमा रोग लागेर लक्षणका रूपमा गिजाबाट रगत आउँछ । यस्तै, गिजामा भएको इन्फेक्सनले रक्तसञ्चारमार्फत् पनि मुटु, कलेजो, मस्तिष्क फोक्सो लगायतमा पनि सङ्क्रमण गराउन सक्छ ।

 

त्यस्तै, मुखको  सफाइ नभएमा, मुखमा सङ्क्रमण भएमा, ल्यूकेमिया आदिले गिजाबाट रगत बग्ने गर्छ  । गुणस्तरीय खानपान नहुँदा तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा पनि गिजाबाट रगत बग्ने गर्छ । डा न्यौपानेका अनुसार अन्य व्यक्तिलाई भन्दा सुर्तीजन्य पदार्थ खाने तथा धुम्रपान गर्नेहरुमा गिजाबाट रगत आउने समस्या बढी देखिन्छ ।

 

गिजाबाट रगत बग्ने कुरालाई सामान्य रूपमा लिन नहुने सर्जन डा. न्यौपाने बताउँछन् । उपचारमा ध्यान नदिइए सङ्क्रमणको ठूलो रूप लिन सक्छ । गिजा कमजोर हुँदा दाँत हल्लिने र झर्ने समस्या आउन सक्छ ।

 

विशेषत गिजामा रगत अर्थात् सङ्क्रमण धूम्रपान गर्नेलाई बढी हुने सर्जन डा. न्यौपाने बताउँछन् । दाँतको उपचार गरेपनि गिजाको उपचारमा भने धेरैले त्यति ख्याल गर्दैनन् । मुखको स्वास्थ्यलाई अझै पनि गम्भीर ढंगले नलिंइदा गिजामा जटिल समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार