नेपाललाई मान्यता जोगाउने चुनौती

आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार राति ओमानसँग खेल्दै सिरिजको सुरुवात गर्दैछ।

 

नेपालको यो लिग–२ मा चौथो त्रिकोणात्मक सिरिज हो। लिगमा नेपालले अहिलेसम्म सबैभन्दा कम खेल खेलेको छ। विश्वकप लिग–२ को पूरै खेल सकिने सम्भावना छैन। त्यसैले सिरिजमा जितको प्रतिशतको आधारमा शीर्ष तीन टोलीको टुंगो हुने सम्भावना छ।

 

सात टोली सहभागी लिग–२ मा शीर्ष ३ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्। त्यसपछिका शीर्ष दुई टोलीको एकदिवसीय मान्यता कायम रहँदै प्ले अफ खेल्न पाउनेछन्। बाँकी दुई टोलीले पनि विश्वकप छनोटको ग्लोबल क्वालिफायर्सका लागि प्लेअफ खेल्ने मौका पाउनेछन्।

 

विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई यो भ्रमणका सबै खेलमा जित आवश्यक छ।  नेपालका लागि विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन र एक दिवसीय मान्यता जोगाउन उत्तिकै महत्वपूर्ण छ। सन् २०१८ मा पपुवा न्युगिनीलाई हराउँदै सन् २०२२ सम्मका लागि पहिलोपटक एक दिवसीय मान्यता पायो।

 

तर, कोरोना महामारीको कारण नेपालले उक्त एकदिवसीय मान्यताको फाइदा भने उठाउन सकेन। महामारीका कारण प्रतियोगिता हुन नसक्दा उक्त मान्यता एक वर्षका लागि बढाइएको छ।

 

सन् २०२३ सम्म नेपालले लिग २ को शीर्ष पाँचभित्र रहने सके अर्को ५ वर्षका लागि मान्यता जोगाउन सक्छ। तर नेपालका लागि एकदिवसीय मान्यता जोगाउन त्यति सहज भने छैन।

 

नेपालको एक दिवसीय मान्यता जोगिने वा नजोगिने भन्ने कुरा धेरै हदसम्म अमेरिका सिरिज र त्यसपछि हुने स्कटल्याण्ड भ्रमणमा निर्भर हुन सक्छ।  एक दिवसीय क्रिकेटमा अमेरिकामाथि नेपाल हाबी हुँदै आएको छ। वरीयतामा नेपाल १७ औँ स्थानमा रहँदा अमेरिका २८ औं स्थानमा छ।

 

विश्वकप छनोटअन्तर्गत लिग–२ मा अहिलेसम्म भएको ४ खेलमध्ये ३ खेलमा नेपाल विजयी भएको छ भने एक खेलको नतिजा अमेरिकालाई सुम्पेको छ।

 

यद्यपि घरेलु मैदानमा अमेरिकालाई हराउनु नेपालको लागि सहज छैन। अमेरिकाले पछिल्लो समय घरेलु मैदानमा खेलेको खेलमा लिगका शीर्ष तीनमा रहेका टोलीलाई हराउँदै आफूलाई अब्बल साबित गरिसकेको छ।

 

त्यसैले अमेरिकाको टोली उच्च मनोबलमा रहेको छ। बुधबार भएको खेलमा पनि अमेरिकाले लिगको शीर्षस्तानमा रहेको टोली ओमानसँग १४१ रनको फराकिलो जित हात पारेको थियो। त्यसैले मौसमका कारण पनि नेपाली टोलीलाई अमेरिका भ्रमणमा असहज हुनेछ।

 

उता ओमान वरीयतामा ३२ औं स्थानमा छ। वरियतामा पछि रहे पनि ओमान नेपालमाथि हाबी हँुदै आइरहेको छ। लिग–२ का ४ भेटमा नेपालले एक खेलमा मात्र जित निकालेका छन्। यिनमा ३ खेलको नतिजा ओमानलाई सुम्पेको छ। त्यसैले अमेरिका भ्रमण नेपालका लागि चुनौतीपूर्ण छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार