
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार भएको मतदानको मतपरिणाम अनुसार नेम्वाङले ४५ मत ल्याए र विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कर्माछिरिङ सेर्पाले ३९ मत ल्याएका छन्।
यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का ४४ मतका साथ विजयी भएका छन्। उनलाई शिक्षित पराजुलीले ४० मतले पछ्याएका थिए ।
एन्फाको आगामी ४ वर्षको कार्यकालका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानलसहित चुनावी मैदानमा थिए।
अध्यक्षका अर्का प्रत्यासी फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव राज पौड्याल भने एक्लै चुनावी मैदानमा थिए। उनले मत नै पाएनन्। अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उम्मेदवारी परेको थियाे। एन्फाको जारी साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य छान्नेछ।






