
बोरिस जोनसनले कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने भएका छन्। सो पार्टीको नयाँ नेता छनोट भएपछि उनले प्रधानमन्त्री पद त्याग्नेछन्।
तीन वर्षभन्दा कम समय पदमा बसेपछि उनी प्रधानमन्त्रीबाट बिदा हुने भएका हुन्। जबकि २०१९ को आम चुनावमा उनको पार्टीले ठूलो बहुमत हासिल गरेको छ। उत्तराधिकारी छनोट नहुञ्जेल प्रधानमन्त्रीहरु पदमा कायम रहनेछन्।
दलको नेताले पद छाडेपछि नयाँ नेताका लागि चुनाव सुरु हुन्छ। अहिलेको नियमअनुसार उम्मेदवार बन्न चाहनेले कम्तीमा आठ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ।
सबैले उम्मेदवारी घोषणा गरिसकेपछि दुई जनाभन्दा बढी उम्मेदवार भए सो पार्टीका सांसदले दुई जना मात्र बाँकी रहुन्जेल अनेक चरणमा मतदान गर्छन्।
प्रतिस्पर्धामा काम रहन उम्मेदवारले पहिलो चरणमा कम्तीमा ५ प्रतिशत (अहिले १८ सांसद) को मत प्राप्त गर्नुपर्ने हुन्छ। दोस्रो चरणमा उनीहरुले १० प्रतिशत (३६ सांसद) को मत प्राप्त गर्नुपर्छ। त्यसपछिका चरणमा सबैभन्दा कम मत प्राप्त गर्ने उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिन्छन्।
जब दुई सांसद मात्र पार्टी नेता बन्ने प्रतिस्पर्धामा बाँकी रहन्छन्, त्यसपछि सांसद मात्र होइन, कन्जरभेटिव पार्टीका सबै सदस्यले मतदान गर्छन्।
कहिले, कसरी मतदान गर्ने भन्ने निर्णय १९२२ कमिटीले गर्छ। त्यसरी चुनाव जित्ने व्यक्ति दलको नेता बन्छ। र, उसलाई रानीले सरकार गठन गर्न आह्वान गर्छिन्। किनभने अहिले संसदमा सो पार्टीको बहुमत छ।
प्रधानमन्त्रीले राजीनामा दिनेबित्तिकै आफैँ आम चुनाव हुँदैन। ढिलोमा २०२५ को जनवरीमा चुनाव गरिनुपर्छ। तर, नयाँ प्रधानमन्त्रीले त्यसभन्दा चाँडै चुनाव गराउन सक्छन्।
शरद ऋतुसम्म जोनसन नै प्रधानमन्त्रीमा कायम रहने बताइएको छ। दलले नयाँ नेता नचुनुन्जेल उनी पदमा रहनु सामान्य हो। यसअघिका टरिसा मे र डेविड क्यामरुनले पनि राजीनामापछि त्यसै गरेका थिए।
तर, जोनसनले तुरुन्तै पद छाड्न चाहे रानीले नयाँ नेता छनोट नहुञ्जेलका लागि कार्यवाहक प्रधानमन्त्री बनाउन सक्छिन्। सिद्धान्ततः पद नछाडुन्जेल जोनसनसँग पहिलेकै जति अधिकार कायम रहन्छ। व्यावहारिक रुपमा ठूला नीतिगत निर्णय गर्ने हैसियत उनले गुमाएका छन्।
तर, विदेशमा बेलायतको प्रतिनिधित्व गर्ने, सार्वजनिक पदमा नियुक्ति गर्ने र मन्त्री हेरफेरको अधिकार उनलाई हुन्छ। यतिबेलासम्म जोनसनको उत्तराधिकारी को होला, स्पष्ट भइसकेको छैन। तर, कयौँ सम्भावित उम्मेदवार छन्।
यसअघि दलको नेतामा उठेका पूर्वमन्त्री जेरेमी हन्ट र साजिद जाविद पनि उठ्न सक्छन्। त्यसबाहेक माइकल गोभ, पेन्नी मोर्डन्ट, ऋषि सुनाक, लिज ट्रस, बेन वालेस, नदिम जहावीजस्ता नाम चर्चामा छन्। बीबीसी








