कंगोमा हिंसात्मक प्रदर्शन हुदाँ दुई भारतीयसहित तीन सैनिकको मृत्यु, नेपाली टोली सुरक्षित

डीआर कङ्गोमा चर्किएको द्वन्द्व  र हिंसात्मक प्रदर्शनमा परेर कम्तीमा तीनजना शान्ति सैनिकको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघले यो हिंसात्मक प्रदर्शनमा तीनजना शान्ति सैनिकले ज्यान गुमाएका पुष्टि गरेको छ।

 

समाचार अनुसार डीआर कङ्गोको पूर्वी सहर बुटेम्बोमा अवस्थित राष्ट्रसंघीय टोलीका दुई शिविरमा स्थानीयले आक्रमण गरेका हुन्। त्यसक्रममा भएको झडपमा तीन शान्ति सैनिक र दर्जन प्रदर्शनकारी मारिएका बताइएको छ।

 

स्थानीयको आक्रमणपछि भएको झडपमा ज्यान गुमाउने तीनमध्ये दुई जना भारतीय सीमा सुरक्षा बलका सदस्य रहेको खुलेको छ। यस कुराको पुष्टि भारतीय विदेशमन्त्री एस जयशंकरले गरेका छन्।

 

कंगोमा शान्ति स्थापनाका लागि नेपाली सेनाको टोली पनि तैनाथ छ। त्यहाँ तैनाथ नेपाली सेनाको टोली भने सुरक्षित रहेको जानकारी सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको जानकारी बुधबार दिएका छन्। कंगोमा हिंसा बढिरहेका बेला सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति निकाल्दै निरन्तर सम्पर्कमा रहेको उल्लेख गरेको छ।

 

‘शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघीय मिसनअन्तर्गत डीआर कंगो (मोन्युस्को) मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीयबासीले विभिन्न माग राख्दै सैनिक टोलीविरुद्ध विरुद्ध प्रदर्शन गरेका छन्’, नेपाली सेनाले भनेको छ, ‘त्यहाँ मिसनसँग सम्बन्धित केही भौतिक संरचनामा आगजनी र लुटपाटजन्य घटना गरिरहेको जानकारी गराइन्छ।’

 

सेनाले उक्त मिशनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जनाएको छ। डीआर कंगोमा नेपाली सेनाको एउटा द्रूत प्रतिकार्य टोली, एउटा इन्जिनियरिङ इकाइ र एउटा गण तैनाथ छन्।

 

‘उक्त मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरू तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न निर्देशन गरिएको छ’, सेनाले भनेको छ, ‘परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको जानकारी गराइन्छ।’

 

यसबीचमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुने बताए। उनले डीआर कङ्गोको सरकारलाई घटनाको अनुसन्धान गर्न पनि भनेका छन्।

 

डीआर कंगोमा हाल राष्ट्रसंघमार्फत विभिन्न देशबाट पुगेका ११ सय बढी शान्ति सैनिक तैनाथ छन्। सेनाले डीआर कंगोको हिंसा भड्किएको स्थानबाट पर्यवेक्षक र स्टाफ अधिकारीहरूलाई उद्धार गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार