बाँदरले दु:ख दिएपछि भोजपुरका किसानको ड्रागन खेतीमा आकर्षण बढ्दै

  समिर साम्पाङ राई

 


टेम्केमैयुङ गाउँपालिका ८, गोगने सल्लेनीस्थित स्थानीय शम्भु नेपालले गरेको ड्रागनफ्रुट खेती । तश्विर, सिलिचुङ सम्बाददाता

 

भोजपुर । बाँदर आतंक लगाएको अन्नबालीमा दु:ख दिएपछि टेम्केमैयुङ गाउँपालिका ८, गोगने सल्लेनीस्थित ४२ रोपनीमा ड्रागनफ्रुट खेती गर्न थालिएको छ । उक्त खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि किसानको आकर्षण पनि बढेको छ । बाँदर आतंकका कारण वर्षौदेखि बाँझिएको उक्त जमिनमा ३ वर्षअघि दानाबोट फलफुल तथा कृषि र्फम दर्ता गरी कृषि कर्म सुरु गरेका स्थानीय शम्भु नेपालले अहिले बार्षिक १४ देखि १८ लाख सम्म आम्दानी लिन थालेका छन् ।

“केहि वर्षअघिसम्म सिँचाइ अभाव र बाँदरका कारण अन्नबाली भित्राउन नपाउँदा धेरै ग्रामीणबस्ती बसाइँ सर्न बाध्य थिए । बाँदरले दिएको हैरानीको उत्तम विकल्प खोज्दै राम्रो आम्दानीको श्रोत पनि भएको ड्रागनफ्रुट, कागती, टिमुर र मेकाडिया नट जस्ता फलफुल तथा नगदेबालीतर्फ युवापुस्ता पनि आकर्षित बनेका छन् ।”

’बाँदरले अन्नबाली भित्रिनै दिदैन, विकल्पमा यो खेती रोजेँ । बजारमा यसको माग पनि धेरै छ, बजारमूल्य पनि राम्रो छ’ नेपालले भने, ’बाँदरबाट पनि छुटकारा अनि आम्दानीको पनि राम्रो स्रोत हुने भएपछि सबै जमिनमा ड्रागन फ्रुट लगाएको छु’
बाँदर आतंकले अन्नबाली भित्राउन नदिएपछि धेरै खेतीयोग्य जमिनहरु बाँझिने क्रम बढ्दो छ । तर पछिल्लो समय ती बाँझो जमिनमा बाँदरबाट छुटकारा पाउन किसानहरु वैकल्पिक खेती उन्मूख भएका छन् । खाली खेतीयोग्य जमिनमा किसानहरुले बाँदरले नखाने प्रजातीका फलफूल खेती गरेर मनग्गे आम्दानी लिन थालेका छन् । मनग्गे आम्दानी हुनाले यो खेती सबैभन्दा उत्तम विकल्प भएको अर्का कृषक नरबहादुर गुरागाईँले बताए । व्यावसायिक रुपमा ड्रागनफ्रुट खेतीबाट स्वदेशमै रोजगारको बाटो खुलेको उनी बताउँछन् ।
रोपेको २ वर्षमै ड्रागनफ्रुटले मनग्गे आम्दानी दिन थालेपछि किसान यो खेतीमा हौसिएका छन् । कृषकले बजारको माग अनुसार ड्रागनफ्रुट पुर्‍याउन सकेका छैनन् । स्थानीय बजारमा प्रतिकिलो ५ सय देखी ७ सय रुपैँयामा बिक्रि हुने ड्रागनफ्रुटको माग बढ्दो छ । पछिल्लो समय नेपालमा उत्पादन गरिएको ड्रागनफ्रुट र कागती खेतीमा स्थानीयले रोजगारी समेत पाएका छन् ।
केहि वर्षअघिसम्म सिँचाइ अभाव र बाँदरका कारण अन्नबाली भित्राउन नपाउँदा धेरै ग्रामीणबस्ती बसाइँ सर्न बाध्य थिए । बाँदरले दिएको हैरानीको उत्तम विकल्प खोज्दै राम्रो आम्दानीको श्रोत पनि भएको ड्रागनफ्रुट, कागती, टिमुर र मेकाडिया नट जस्ता फलफुल तथा नगदेबालीतर्फ युवापुस्ता पनि आकर्षित बनेका छन् । वैदेशिक रोजगारीमा जाने युवापुस्तालाई देशभित्रै व्यावसायिक खेतीउन्मुख गराउन सके बेरोजगारी न्यूनिकरण हुने स्थानीय ईन्द्र थापा बताउँछन् । भने, ’स्वदेशमै रोजगारी सिर्जना गर्ने यो खेती पनि प्रमुख हो, यसलाई सबै तवरबाट प्रबद्र्धन गर्नसके देशको आयश्रोतमा पनि टेवा पुग्ने थियो, युवाहरु वैदेशिक रोजगारका लागि जानुपर्ने थिएन’
पौवादुङमा गाउँपालिका १, श्यामशिलाका कमल भुजेलले पनि आफ्नो ३० रोपनी खेतीयोग्य जग्गामा योवर्ष फलफुल र जडिबुटी खेती सुरु गरे । अन्नबालीमा बाँदरको आतंक बढेपछि उनले यो विकल्प रोजेका हुन् । बाँदर आतंकले दिएको सास्तीबाट छुटकारा पाउन उनले मेकाडियानट, टिमुर र एवोकाडो जस्ता फलफुल र जडिबुटी खेती लगाएका हुन् ।
’मुख्य अन्नबाली बाँदरले नै सखाप पारिदिन्छ, रुँघेर पनि सकिन्न, त्यसैले योवर्षदेखि धान फल्ने खेत नै मासेर यतातिर लागेको छु’ कमलले भने, ’बाँदरले अन्नबाली खाएपनि जडिबुटी र एवोकार्डो, टिमुरमा त्यति दु:ख नदेला कि भनेर यो खेती सुरु गरेको छु, आशा छ विगतमा जस्तो सास्ती नआउला’ पछिल्लो केहि वर्षयता सिँचाइ अभाव र बाँदरका कारण अन्नबाली फलाउन नपाउँदा भोजपुरका धेरै गाउँबस्ती बसाइँ सराइले रित्तो बन्दै गए ।
नेपाल एक कृषि प्रधान देश भएकाले पनि कृषि क्षेत्रको प्रबद्र्धन र व्यावसायिकता बढाउन सके बेरोजगारी कम हुने सरोकारवालाको बुझाई छ । जमिनको उपयोगिता हेरेर आफ्नै ठाउँमा व्यावसायिक बन्नसके विदेशको कमाई नेपालमै गर्न सकिने स्थानीय युवा अगुवा हरि गौतम बताउँछन् । पछिल्लो समय जमिन बाँझो छाडेर विस्थापितहरु पनि गाउँ नै फर्केर व्यावसायिक खेती लगाउने योजना बनाउन थालेको उनी सुनाउँछन् । खण्डहर बन्दै गएको बाझो जमिनमा व्यावसायिक फलफुल खेती लगाउन स्थानीय, प्रदेश र संघिय सरकाले व्यावसायिक कृषि लक्षित प्रबद्र्धन गर्नसके आर्थिकस्तर उकास्न सकिने देखिन्छ ।

 


टेम्केमैयुङ गाउँपालिका ८, गोगने सल्लेनीस्थित स्थानीय शम्भु नेपालले गरेको ड्रागनफ्रुट खेती । तश्विर, सिलिचुङ सम्बाददाता

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार