
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अझै पनि देशमा पूरा संघीयता नआइसकेको बताएका छन्। संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले मंगलबार गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
सबै अधिकार केन्द्रले राखेर प्रदेश र स्थानीयलाई निम्छरो बनाएको गुनासो गर्दै उनले सानो सानो काममा पनि सिंहदरबार नै ताक्नुपर्ने बाध्यता कायमै रहेको बताए।
‘हामीले लोकल रक्सी ब्रान्डिङका कुराहरु खुबै चर्चामा ल्यायौँ । तर लोकल रक्सीको ब्रान्डिङ गर्न हामीले कुनै उद्योग खोलौँ न भन्दा प्रदेशलाई अधिकार नै छैन, खोल्नै पाइँदैन।’
राईले बेलायतमा त्यहाँस्थित गोर्खाहरुले कोदोको लोकल रक्सी ब्रान्डिङ गरिरहेका बताउँदै नेपालमा भने अवस्था उल्टो रहेको बताए।
‘हामीकहाँ त उद्योग दर्ता गराउन खोज्दा पनि पाइँदैन। सबै अधिकार सिंहदरबारले बोकेर बसेको छ’, उनले भने, ‘हामीसँग विभिन्न ठाउँमा खनिज छन् तर त्यो अधिकार संघलाई छ, हामीले छुन पनि पाउँदैनौँ।’
मुख्यमन्त्री राईले सडक विस्तारका लागि दायाँ बायाँको जग्गा अधिग्रहणका लागि समेत केन्द्र अन्तर्गतकै वन विभागको मुख ताक्नुपर्ने बाध्यता रहेको पनि सुनाएका छन्।







