
यूकेमा कन्जर्भेटिभ पार्टीकी नेत्री लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन्। उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्।महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराएकी छन्।
सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको घोषणा गरेको थियो। नयाँ प्रधानमन्त्री नियुक्त हुँदा लन्डनस्थित बकिङ्गम राजदरबारमा समारोह आयोजना गर्ने परम्परा यसपालि भङ्ग भएको छ।
मङ्गलवार आफ्नो बिदाइ भाषणमा जोनसनले ट्रसलाई सहयोग गर्न कन्जर्भेटिभ पार्टीका सबैलाई आग्रह गरेका थिए। त्यसपछि उनले बाल्मोरल गएर महारानीसमक्ष राजीनामा दिएका थिए।
नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ। यसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए। कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका थिए।







