अमेरिकी राष्ट्रपति वाइडेन र चीनका राष्ट्रपति सी बीच भेटवार्ता हुने

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी जिनपिङ्गको प्रत्यक्ष भेटवार्ता हुने भएको छ । उनीहरुबीच यही सोमबार अर्थात् नोभेम्बर १४ तारिकमा प्रत्यक्ष भेट हुने भएको हो ।विश्वका दुई शक्तिशाली राजनेताहरुका बीच दुबैजना राष्ट्रपति पदमा निर्वाचित भएपछिको यो पहिलो भेटघाट हो । जी २० राष्ट्रका नेताहरुको बालीमा हुने बैठकको साइडलाइनमा यो भेटघाट हुने भएको हो ।

 

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरिनले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच भेट हुन लागेको पुष्टि गरेकी छिन् । विज्ञप्तिमा आपसी संचारलाई व्यबस्थित बनाउने, प्रतिष्पर्धालाई मर्यादित बनाउने र दुबै मुलुकका साझा चासोका विषयहरुमा विशेषत अन्तर्राष्टिय समुदायलाई असर हुने विषयमा सहकार्य गर्ने एजेण्डाहरुका छलफल हुने उल्लेख गरिएको छ । उनले दुबै नेताहरुका बीच थुप्रै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा छलफल हुने समेत बताएकी छिन् ।

 

विश्वका दुई शक्तिशाली मुलुक र दुई ठूला अर्थतन्त्र भएका मुलुकका बीचको सम्बन्ध विगत केहीबर्षदेखि निकै नै विग्रदै गएको छ । केही समयअघि अमेरिकी संसदकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिकासंग चीन निकै रुष्टसमेत भएको छ । चीनले अमेरिकासंगका धेरैजसो औपचारिक सम्बादका च्यानलहरु बन्द गरेको थियो । अमेरिकी संचारमाध्यमहरुले दुबै नेताको भेट हुने समाचारलाई निकै प्रचार गरेका छन् । यो भेटमा अमेरिकाले चीनमा मानवअधिकार उल्लंघनका घटनाहरु बढेकोमा चिन्ता व्यक्त गर्न सक्ने बताइएको छ ।

 

त्यसैगरी उत्तर कोरियाको उत्ताउलो गतिविधि र रुस युक्रेन युद्धका विषयमा पनि दुई नेताबीच कुरा हुन सक्ने सीएनएनलगायतका अमेरिकी सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार