जसको उत्साहलाई बुढेसकालले छोएन

  प्रदीपचन्द्र राई

 

 

भोजपुर । भोजपुर नगरपालिका वडा नं ८, पोखरेका ९४ वर्षिया ललितमाया कार्की एकाबिहानै नातीसंग मतदाता परिचय पत्र बोकेर स्थानीय सरस्वती आधारभुत विद्यालयको प्रागंणमा पुगिन् । करिब ८ सय मतदाता रहेको उक्त वडामा सबैभन्दा पहिलो मतदान गर्ने मतदाताको रुपमा कार्कीलाई पालो दिईयो । उनी आफुलाई दिएको पहिलो प्राथमिकताबाटै हर्षित बनिन् । बुढेसकालमा आफ्नो मताधिकार गर्दा उनको खुशीको सिमा रहेन ।

संघ र प्रदेश निर्वाचनका लागि भोजपुरका ९ स्थानीय तहका ८१ वडामा ८७ मतदानस्थल र १ सय ५७ मतदानकेन्द्र निर्धारण गरिएको छ । भोजपुरमा कुल एकलाख २३ हजार ३ सय ५९ जना मतदाता रहेका छन् ।

‘अर्को चुनावसम्म भोट दिन भेटिन्छ कि भेटिन्न कुनै टुंगो छैन ! एकपल्ट भए पनि भोट हालेर आउँ भनेर लट्ठी टेक्दै भए पनि भोट दिन आएँ, भोट लगाएँ’ कार्कीले भनिन्, ‘मतदान गर्न पाउँदा धेरै खुशी लागेको छ, हाम्रो भोट खेर नजाओस्, अब कति बाँचिएला र !’ उमेरले पाको भएपनि बाँचुञ्जेल विकास र समृद्धि देख्न चाहने ज्येष्ठ नागरिकको यसपटक उत्साहजनक सहभागिता देखिएको छ ।
भोजपुर नगरपालिका वडा नं ७, डाँडागाउँकी ८५ वर्षिया जयमाया तामाङ पनि आईतबारको चुनावमा निकै उत्साहित देखिईन् । भोजपुर सदरमुकामको टुँडिखेल मतदानकेन्द्रमा उनले छोरा र बुहारीसंगै बैशाखी टेक्दै मतदान गरिन् । भनिन्, ‘मेरो सपना धेरै विकास होस् भन्ने हो, मेरो भोट पनि धेरै विकास गर्नेलाई हो, हामी बुढाबुढीको हेरचाह र खुशी साकार पार्ने होस्’
यसपटक भोजपुरबाट करिब ५ हजार बढि ज्येष्ठ नागरिकले मतदान गरेका छन् । ज्येष्ठ नागरिकहरु बृद्धबृद्धाका समस्या र दुःखकष्ट सुनिदिने जनप्रतिनिधि छान्नमा उत्सुक देखिएका छन् । आफ्ना पुस्ताका समस्या सम्बोधन गर्नेलाई नै भोट दिने भोजपुर नगरपालिका वडा नं ८, बरबोटका ९५ वर्षिय उजिरबहादुर प्रधानले सुनाउँछन् । भन्छन्, ‘चुनावमा जितेर जानेले हामी जस्ता बुढाबुढिको समस्या बुझिदेओस्, गाउँठाउँ विकास गरुन्, हाम्रा सन्ततिले दुःख नपाउन्, सबै सुखी होउन् भन्ने चाहान्छु’
संघ र प्रदेश निर्वाचनका लागि भोजपुरका ९ स्थानीय तहका ८१ वडामा ८७ मतदानस्थल र १ सय ५७ मतदानकेन्द्र निर्धारण गरिएको छ । भोजपुरमा कुल एकलाख २३ हजार ३ सय ५९ जना मतदाता रहेका छन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउने आवश्यक सुरक्षा प्रबन्ध मिलाइ सकिएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए । उनले सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली पुगिसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार