भोजपुरमा सबै समानुपातिकतर्फ एमाले पहिलो पार्टी

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । भोजपुरमा समानुपातिकतर्फको मतगणनामा नेकपा एमाले पहिलो राजनीतिक पार्टी बनेको छ । प्रत्यक्षतर्फको प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनसंग हार व्यहोरेपनि समानुपातिकमा सबै राजनीतिक दललाई उछिन्दै एमाले पहिलो पार्टी बनेको हो ।
नेकपा एमालेले प्रतिनिधीसभाको समानुपातिकतर्फ कुल २२ हजार ९ सय २५ मत र प्रदेशसभाको समानुपातिकतर्फ २२ हजार ६ सय ९५ मत ल्याउँदै पहिलो बनेको हो । दुवै तर्फको समानुपातिकमा नेपाली कांग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो दल बनेको छ । प्रतिनिधीतर्फ कांग्रेसले कुल १४ हजार ७ सय ६४ र माओवादीले कुल १२ हजार ७ सय ३७ मत प्राप्त गरे । त्यस्तै प्रदेशसभातर्फ कांग्रेसले कुल १३ हजार ८ सय २७ मत र माओवादीले १३ हजार ४ सय ५३ मत ल्याए ।
प्रत्यक्षमा गठबन्धनसंग हारेपछि समानुपातिकको नतिजा सान्त्वना दिएको नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए । गठबन्धनसंगको चुनावी प्रतिस्पर्धामा एक्लैले कडा चुनौती दिएकोमा मतदातालाई धन्यवाद व्यक्त गर्दै उनले भने, ‘यसपटक महा गठबन्धनसंगै हामी एक्लै भिडेर सम्मानजनक जनताको अभिमत पायौँ, यसैमा हामीले चित्त बुझाएका छौँ, समानुपातिक दलिय चुनाव भएकाले हामी सदाझैँ माथि नै आएका छौँ’
प्रत्यक्षतर्फ भने सत्ता गठबन्धनले सबै सिट जितेको थियो । गठबन्धनबाट भोजपुर प्रतिनिधीसभा सुदन किराती, प्रदेशसभा क्षेत्र नं १ मा मुख्यमन्त्री तथा नेकपा एकिकृत समाजवादीका राजेन्द्र कुमार राई र क्षेत्र नं २ मा नेपाली कांग्रेसका विनोद वान्तावा राई निर्वाचित भएका थिए । सुदनले निकटत्तम प्रतिद्वन्दी पूर्वमुख्यमन्त्री तथा एमालेका शेरधन राई, राजेन्द्रले एमालेका हरिबहादुर राई र विनोदले एमालेकै प्रेम कार्कीलाई हराउँदै विजयी बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार