कांग्रेसमा खैलाबैला : विशेष महाधिवेशनसम्म

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन देखि गत मंसिर–४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पार्टीलाई बहुमत मागेन ।मंसिरको चुनावमा त कांग्रेसले भोट र बहुमत नै गठबन्धनका लागि मागेका थियो ।  तर, कांग्रेस नेतृत्वमा रहेका पाँच दलले गठबन्धनका लागि मागेको बहुमत पनि पाउन सकेन ।

 

अन्ततः पुरानो सहमति कार्यान्वयन नभएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाए र सातदीय गठबन्धनले सरकार बनाउन पुग्यो ।

अघिल्लो दिनसम्म ‘प्रतिगमनका प्रर्याय’ भनेर परिभाषित गरेका प्रचण्ड उनै ओलीसँग मिलेर सरकार बनाउँदा उनीमाथि थुप्रै प्रश्न उठेका छन् ।

 

गठबन्धनका लागि मत मागेर मतदाताले सबैभन्दा ठूलो पार्टी बनाइदिएको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि कांग्रेसमा भने ठूलै कम्पन गएको छ ।

यसले सभापति शेरबहादुर देउवाको नैतिक र राजनीतिक जग हल्लाइदिएको छ भने त्यसका परकम्पले पदाधिकारी हुँदै कार्यसम्पादन समितिमा बस्नेहरुसम्मको आलोचना भइरहेको छ । यो कम्पनबाट उत्पन्न खैलाबैलाले कांग्रेसलाई कहाँसम्म पुर्‍याउला भन्दै प्रश्न उठ्न थालेको छ ।

 

नेपाली कांग्रेसमा ‘लार्जेष्ट’ पार्टी बनेर पनि सरकार बनाउन र गठबन्धन जोगाउन असफल भएको भन्दै विशेष महाधिवेशनको माग उठ्न थालेको छ ।

 

प्रधानमन्त्रीको ‘बालुवाटार कोटरी’का कारण अहिलेको परिस्थिति आएको भन्दै त्यसको जवाफ सभापतिले दिनुपर्ने भनेर प्रश्न उठाइरहेको छ ।

 

अर्को पक्ष सभापति देउवाको बचाउमा छ । देउवाको बचाउमा रहेको पक्षले कांग्रेस सामूहिक नेतृत्वमा रहेको भन्दै अहिलेको परिस्थितिको जिम्मा पदाधिकारीहरुले सामूहिकरुपमा नै लिनुपर्ने बताइरहेको छ ।

 

तर, महामन्त्री गगन थापाले वर्तमान परिस्थितिको आकलन पहिले नै गरिएको भन्दै त्यसलाई जोगाउन पार्टीमा छलफल गर्ने अवसरसमेत सभापति देउवाले नदिएको भन्दै सभापतिविरुद्धको आक्रोस सार्वजनिक गरिसकेका छन् ।

 

“हामीसँग छलफल गरेर निर्णय गर्ने अवस्था निर्माण भएको भए अहिलेको परिस्थितिलाई रोक्ने अवस्था हुन सक्थ्यो,” थापाले भने, “तर, सभापतिले आफ्नो गुट बाहिर छलफल गर्न चाहनुभएन । उहाँको टिमले परिस्थितिको आकलन गर्न सकेन र वर्तमान परिस्थिति आएको हो ।”

 

महामन्त्री थापाको भनाइ हेर्दा सभापति देउवाले पदाधिकारी र एउटा पक्षलाई निर्णय प्रक्रिया र रणनीति अवलम्बन गर्ने ठाउँबाट बाहिर राख्दा अहिलेको परिस्थिति आएको हो । र, यसको जिम्मा सभापतिले नै लिनुपर्छ भन्ने देखिन्छ ।

 

कांग्रेस नेता गुरुराज घिमिरेले त पार्टी नेतृत्वले पहिले गठबन्धन गर्नु हुँदैन भन्ने पक्षलाई बहुमतको बलमा गठबन्धनका पक्षमा उभिन बाध्य पारेको भन्दै अहिले गठबन्धन जोगाउन नसकेको जिम्मा सभापतिले लिनुुपर्ने र नयाँ नेतृत्वको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउँछन् ।

 

उनी सभापतिसँग निर्वाचन लडेका शेखर कोइरालाले विशेष महाधिवेशनको आवाजलाई बुलन्द गर्दै कार्यकर्तामा नयाँ जागरण ल्याउन भूमिका खेल्नुपर्ने भन्दै त्यसो नगरे पार्टी चुनाव नै लड्न नसक्ने अवस्थामा पुग्नसक्ने चेतावनी दिए ।

 

“सभापति देउवाले अब पार्टीलाई पुनर्जीवन दिन्छु भनेर कुन नैतिकताले भन्नुहुन्छ ? उहाँले अब पार्टीलाई नेतृत्व गरेर पहिलो पार्टी बनाउँछु भनेर भन्नुभयो भने कसले पत्याउँछ ?,” घिमिरेले भने, “उहाँले पहिले गठबन्धन गर्नुहुँदैन भन्ने पक्षलाई गठबन्धन गर्न बाध्य पार्नुभयो, अहिले गठबन्धन जोगाउन सक्नुभएन । गठबन्धन तोडिँदा १४ सय पदमा करिब १०० पद कांग्रेसले गुमाएको छ । त्यसैले अब पार्टीलाई पुनर्जीवन दिन विशेष महाधिवेशन आवश्यक छ ।”

 

सभापतिले गठबन्धनलाई बहुमत माग्दा माओवादीसहित अन्य पार्टीलाई भोट हालेका कार्यकर्ता गठबन्धन टुटेसँगै निराश भएको भन्दै त्यो निराशा मेटाएर जागरण ल्याउन वर्तमान नेतृत्वबाट सम्भव नहुने उनको तर्क छ ।

 

“सभापतिजीले १४औं महाधिवेशनमै म सभापति नभए सरकार ढल्छ र गठबन्धन टुट्छ भन्ने मुद्दामा सभापति जित्नुभएको हो । अहिले संसदीय दलमा पनि उहाँलाई अन्य दलको विश्वास लिने र गठबन्धन हाक्न सक्ने योग्यता देखाएर निर्वाचित हुनुभएको हो,” घिमिरेले भने, “ती सबै कुरामा असफल भएपछि नेतृत्वमा उहाँको औचित्य सकिएको छ । अब नेतृत्व परिवर्तनको एउटै विकल्प विशेष महाधिवेशन हो ।”

 

सभापति देउवा निकटकैहरु पनि सभापतिसहित पदाधिकारीमाथि गम्भीर प्रश्न उठेको भन्दै त्यसको जवाफ नेतृत्वले दिनुपर्ने बताउँछन् ।

 

देउवा पक्षकै केन्द्रीय सदस्य नैनसिंह महर सभापतिसहित पदाधिकारी परिस्थितिको मूल्यांकन र त्यस अनुरुप रणनीति निर्माणमा असफल हुँदा पार्टी सबैभन्दा ठूलो भएर पनि प्रतिपक्षमा बस्न बाध्य भएको भन्दै यसको दोष पदाधिकारीहरुले लिनुपर्ने बताउँछन् ।

 

महर त सभापतिसहित पदाधिकारीले चित्तबुझ्दो जवाफ दिएर आफू सुध्रने र पार्टीलाई सुधारको बाटोमा लैजाने विषयमा आश्वस्त पार्न नसके विशेष महाधिवेशनमा जान बाध्य हुने बताउँछन् ।

 

“अहिलेको परिस्थिति पदाधिकारी र कार्यसम्पादन समितिका नाममा केन्द्रीय समितिलाई बाइपास गर्ने र परिस्थितिको मूल्यांकन नगरी हचुवामा निर्णय गर्ने कारणले आएको हो । कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा संघ र प्रदेशमा सरकार बनाउने भन्दै गरेका निर्णय केन्द्रीय समिति बोलाएर सच्याउन चुक्दा कांग्रेसको हातमा आएको सत्ता गुम्न पुग्यो,” महरले बाह्रखरीसँग भने, “यसको जिम्मा निर्णयकर्ताहरु सबैले लिनुपर्छ । उहाँहरुले चित्तबुझ्दो जवाफसहित पार्टीलाई पनर्जिवन दिन र कार्यकर्तामा आशा भर्नसक्नेमा आस्वतस्त पार्न सक्नुपर्छ ।”

 

उनले सभापति र पदाधिकारीले आस्वस्त पार्न नसकेमा विशेष महाधिवेशनबाट  सबैको विकल्प खोजी हुने बताए ।  “उहाँहरुले जिम्मेवार बनेर आश्वस्त पार्न सक्नुभएन भने उहाँहरुकै विकल्प खोज्नुपर्ने हुन्छ,” महरले भने, “दोस्रो स्टेप भनेको विशेष महाधिवेशन नै हो ।”  उनले पार्टीको रणनीति निर्माणमा सभापतिसँगै पदाधिकारी र कार्यसम्पादन समिति असफल भएको बताए ।

 

सभापति देउवानिकट मानिएका नेता सहमहामन्त्री किशोरसिंह राठौर भने कांग्रेसमा विशेष महाधिवेशनको बहस नै नभएको भन्दै सामूहिक सञ्जालमा लेखेका आधारमा कांग्रेसको विशेष महाधिवेशन पनि नहुने बताउँछन् ।

 

उनी केन्द्रीय समितिले आधिकारिक धारणा बनाउने भन्दै केन्द्रीय समितिमा उठ्ने प्रश्न र केन्द्रीय समितिले बनाउने धारणा मात्र कांग्रेसको धारणा हुने बताउँछन् ।

 

उनी सभापति देउवाले गठबन्धनका नाममा चुनाव पनि नजितेको भन्दै पार्टीको चुनावलाई गलत व्याख्या नगर्न चेतावनी दिन्छन् ।  “हाम्रो पार्टी सभापतिले गठबन्धनका नामा चुनाव जितेको होइन, कांग्रेसका मतदाताले उहाँलाई चुनाव जिताएका हुन् । अहिलेसम्म कांग्रेसमा विशेष महाधिवेशनको बहस भएको पनि छैन,” सिंहले बाह्रखरीसँग भने, “अहिले पहिलो पार्टी हुँदा पनि सरकार बन्न नसक्नुको दोष सभापतिलाई मात्र जाँदैन । यसको जिम्मा सामूहिक नेतृत्व भएकाले सबैले लिनुपर्छ ।”

 

उनले प्रचण्ड र केपी ओलीले संविधानलाई बन्धक बनाएका कारण देउवा सरकार बनेको भन्दै फेरि पनि प्रचण्डले त्यही बाटो रोज्दा कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।

 

कांग्रेस निकटका विश्लेषक पुरञ्जन आचार्य कांग्रेसमा विशेष महाधिवेशनको बहस सुरु भए पनि त्यसलाई बोक्न सक्ने हिम्मत अहिलेसम्म नेताहरुमा नदेखिएको भन्दै विशेष महाधिवेशन भइहाल्ने अवस्था देख्दैनन् ।

 

उनी सभापति देउवाको गैरजिम्मेवार भूमिकाले गठबन्धन टुटेको भन्दै शेरख कोइरालासहित बाँकी पदाधिकारीले पनि त्यसको दोष लिनुपर्ने बताउँछन् ।

 

“विदेशीहरुले प्रधानमन्त्री बनाइदिन्छन् भनेर ढुक्क भएर बस्दा सभापति देउवाले गठबन्धन बचाउन सक्नुभएन । भारतीय र अमेरिकनले प्रधानमन्त्री बनाइदिन्छन् भनेर श्रीमतीलाई म्यासेन्जर बनाएर बस्दा उहाँ प्रतिपक्षमा पुग्नुभएको हो,” आचार्यले बाह्रखरीसँग भने, “स्थानीय राजनीतिले अन्तराट्रिय राजनीति निर्देशित हुन्छ भन्ने तथ्य उहाँले भूल्नुभयो र चिप्लिनुभयो ।”

 

उनले शेखर कोइराला नेतृत्वको टिम र बाँकी पदाधिकारी पनि देउवासँगै चुकेको बताए ।  “अहिलेको परिस्थिति आउँदैछ भन्ने भएपछि शेखर टिमले पनि आफ्नो टिमको बैठक बसेर सभापति देउवालाई सुझाव दिन र पार्टीको दुर्घटना रोक्न भूमिका निर्वाह गर्न सकेन । त्यसकारण ४९ प्रतिशत जिम्मेवारी यो समुहले पनि लिनुपर्छ,” आचार्यले भने, “यो अवस्थामा सबैले आफूलाई कार्यकर्ताको विश्वास परिक्षण गर्न विशेष महाधिवेशनमा गए उपयुक्त हुन्छ ।”

 

तर, उनले हिम्मतिलो नेता नदेखेको भन्दै विशेष महाधिवेशनसम्म कांग्रेस पुग्नेमा शंका व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार