चुक्यो इंग्ल्याण्ड

एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा बंगलादेशसँग ५० रनले पराजित हुँदै इंग्ल्याण्ड क्लीन स्वीप गर्नबाट चुकेको छ । शृङ्खलामा यसअघि नै २–० को अग्रता बनाएको इंग्ल्याण्डले बंगलादेशलाई २ सय ४६ रनमा नै सीमित गरेको थियो । तर, लक्ष्य पछ्याउने क्रममा टोली १ सय ९६ रनमा अलआउट हुन पुग्यो ।

 

बिना कुनै विकेट गुमाई ५४ रनको स्थितिमा रहेको टोलीले त्यसपछि ८ बलको अन्तरमा ३ विकेट गुमाएको थियो । अन्ततः ४१ बल बाँकी छँदै टोली अलआउट हुन पुग्यो । इंग्ल्याण्डका लागि जेम्स भिन्सले सर्वाधिक ३८ रन बनाए ।

 

बंगलादेशका शाकिब अल हसनले ३५ रन खर्चेर ४ विकेट लिँदै इंग्ल्याण्डको पारी ध्वस्त बनाएका थिए । यसअघि उनले ७१ बलमा ७५ रन बनाउँदै टोलीको योगफल सम्मानजनक बनाउन मद्दत गरेका थिए । योसँगै शाकिब बंगलादेशका लागि ३ सय विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

 

पछिल्लोपटक श्रीलंकाले सन् २०१४ मा बंगलादेशमा एकदिवसीय शृङ्खला क्लीन स्वीप गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार