१९ औँ एसियाली खेलकुद प्रारम्भ

आजबाट १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले औपचारिक उद्घाटन गरेका हुन ।

सन २०१६ को जी-२० शिखर सम्मेलन आयोजना गर्ने सहरमा प्रतियोगिता आयोजना भएको हो । कमलको फूल आकारको रङ्गशालामा भएको उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपाली प्रधानमन्त्री प्रचण्ड लगायत एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सन २०१५ सेप्टेम्बर १६ मा चीन एसियाली खेलकुद आयोजनाको लागि छनौट भएको थियो । सन २०२२ सेप्टेम्बर १० देखी २५ सम्म हुने तय भएको प्रतियोगिता कोभिड-१९ ले गर्दा एक बर्स धकेलिएको थियो ।

प्रतियोगिता आज सेप्टेम्बर २३ बाट औपचारिक सुरु भएर अक्टोबर ८ सम्म जारी हुनेछ । प्रतियोगिता मा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी छन् ।

 

नेपालबाट २९ खेलमा भाग लिन साढे दुई सय खेलाडी सहभागी छन् । उद्घाटन समारोहको मार्चपासमा दौरासुरुवाल भादगाउँले टोली र साडीचोलीमा सजिएर नेपाली टोलीले आकर्षक प्रस्तुति गर्दा प्रधानमन्त्री प्रचण्ड मुस्कुराएर ताली दिएको तस्बिर ठूलो पर्दामा देखाइएको थियो ।

चीनले आयोजना गरेको यो तेस्रो एसियाली खेलकुद हो । यो भन्दा अगाडि बेइजिङमा तथा क्वाङ्चौमा एसियाली खेलकुद आयोजना भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार