खालिस्तानी नेताको हत्या मामिलामा अमेरिकाले क्यानडाको साथ दिएपछि भारत तनावमा

खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा अमेरिकाले क्यानडाको अनुसन्धान अगाडि बढाउनुपर्ने र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने कुरा दोहोर्‍याएको छ।

 

क्यानडाले निज्जरको हत्यामा भारतीय अधिकारीको हात रहेको आरोप लगाएको छ । भारतले क्यानडाको आरोपलाई ‘आधारहीन’ र ‘राजनीति प्रेरित’ भन्दै अस्वीकार गरेको छ।

 

अमेरिकाको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले भने ‘हामी प्रधानमन्त्री ट्रुडोले लगाएको आरोपबाट चिन्तित छौं। हामी क्यानाडाका सहकर्मीहरूसँग नजिकको सम्पर्कमा छौं।’

 

एक प्रश्नको जवाफमा मिलरले भने, ‘हामीलाई यो महत्त्वपूर्ण घटना हो भन्ने विश्वास छ । क्यानाडाको अनुसन्धान अगाडि बढ्नुपर्छ र अपराधीहरूलाई न्यायको दायरामा ल्याउनु पर्छ। हामीले सार्वजनिक र निजी रूपमा भारत सरकारलाई क्यानडाको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छौं।’

 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले क्यानडाका प्रधानमन्त्री ट्रुडोले भारतमाथि लगाएको आरोपप्रति अमेरिका गहिरो चिन्तित रहेको र वाशिङटनले यस विषयमा ओटावासँग नजिकबाट समन्वय गरिरहेको बताए ।

 

उनले भने ‘अमेरिका यस मामिलामा जवाफदेहिता हेर्न चाहन्छ।’ शुक्रबार न्युयोर्कमा पत्रकार सम्मेलनमा बोल्दै ब्लिन्केनले यस विषयमा अमेरिकाले भारत सरकारसँग सीधै कुरा गरेको र यो अनुसन्धान पूरा गर्नु सबैभन्दा उपयोगी हुने बताए ।

 

यसअघि क्यानडाका लागि अमेरिकी उच्चायुक्त कोहेनले एक अन्तर्वार्तामा अमेरिकाले यी आरोपहरूलाई गम्भीरताका साथ लिएको बताएका थिए । यदि यी आरोपहरू सत्य साबित भएमा यो सम्भवतः नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको धेरै गम्भीर उल्लङ्घन हुने उनले बताए ।

 

क्यानडामा खलिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसको पछाडि भारतको हात रहेको आरोप लगाएका थिए ।

 

यसपछि भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । निज्जरलाई भारतले आतंकवादी घोषणा गरेको थियो । जुन १८ मा क्यानडाको सरेस्थित गुरुद्वारा बाहिर उनको हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार