
इरानमा जारी द्वन्द्वका पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले भारतको लद्दाखको लेह जिल्लामा आयोजना गरिएको चन्दा संकलन अभियानमा मानवीय संवेदनासहितको एउटा अनौठो दृश्य देखिएको छ। स्थानीय बासिन्दाहरूले द्वन्द्वग्रस्त क्षेत्रका बालबालिका र पीडितका लागि देखाएको ऐक्यबद्धता स्वरूप एउटा साधारण अण्डा २५ हजार भारतीय रुपैयाँ (४० हजार नेपाली रूपैयाँ) मा लिलाम भएको छ।
स्थानीय बासिन्दा शब्बिर हुसैनले लिलामीको क्रममा उक्त अण्डाका लागि २५ हजार रुपैयाँ तिरेका हुन्। बजारमा एउटा अण्डाको मूल्य १० रुपैयाँ मात्र भए पनि द्वन्द्वमा परेकाहरूका लागि एउटा सन्देश दिन आफूले यति ठूलो रकम खर्चेको उनले बताए।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै हुसैनले भने, “अण्डाको मूल्य १० रुपैयाँ हो भन्ने सबैलाई थाहा छ। तर इरानका बालबालिकामाथि भइरहेको दमन र पीडाका विरुद्ध हाम्रो ऐक्यबद्धता जनाउन मैले यो मूल्य तिरेको हुँ। हामी हाम्रो समुदायका लागि ज्यान दिन पनि तयार छौँ।”
‘अन्जुमन इमामिया लेह’ र ‘मजलिस-ए-उलेमा लेह’ जस्ता स्थानीय निकायहरूले आयोजना गरेको यस अभियानमा लद्दाख र जम्मू-कश्मीरका विभिन्न भागबाट मानिसहरूले उत्साहजनक सहभागिता जनाएका छन्। केही हप्तायता जारी यस अभियानमा नगद मात्र नभई सुनचाँदीका गहना, घरपालुवा जनावर र परम्परागत तामाका भाँडाकुँडा समेत दान गरिएको छ।
विशेष गरी महिलाहरूले आफ्ना व्यक्तिगत सुनका गहना र मूल्यवान् घरायसी सामानहरू दान गरेका छन् भने बालबालिकाहरूले आफ्नो खुत्रुकेमा जम्मा गरेको बचत र इदको खर्च समेत सहयोग गरेका छन्। यस्तै दृश्यहरू चन्दरकोट, रामबाण र बुडगाम जस्ता स्थानहरूमा पनि देखिएका छन्, जहाँ शिया समुदायका मानिसहरूले इमामबाडामा जम्मा भएर आ-आफ्नो गच्छे अनुसारको सहयोग हस्तान्तरण गरिरहेका छन्।
भारतीय नागरिकहरूले देखाएको यो “दयालुपन र मानवता” प्रति भारतस्थित इरानी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत आभार प्रकट गरेको छ। भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा जोडिएका स्थानीय बासिन्दाहरूले यो संकटको घडीमा आफ्नो समर्थन जारी राख्ने बताएका छन्।
अमेरिका-इजरायल गठबन्धन र इरानबीचको द्वन्द्व ४०औँ दिनमा प्रवेश गरेसँगै २ हप्ताको युद्धबिराम घोषणा गरिएको छ । हालैका दिनहरूमा भीषण हवाई आक्रमणहरू भएका छन् ।







