भोजपुर । भोजपुरको दुर्गम पौवादुङ्मा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमै क्षेत्रीयस्तरको बहुउद्देश्यीय रंगशाला निर्माणको काम तीव्र रुपमा अगाडी बढेको छ । जिल्लाभित्रै दक्ष खेलाडी उत्पादन र क्षेत्रीयस्तरका खेलहरु खेलाउने उद्देश्यका साथ करिब २ करोडको लागतमा बन्ने निर्माणाधिन रंगशालाको पहिलो चरणअन्र्तगत मैदान खार्ने र सम्याउने काम सम्पन्न भएको हो ।
विश्व अल्ट्राधाविका मिरा राईको सम्मानका लागि हरेक वर्ष यसै रंगशालालाई अल्ट्रा म्याराथुनको स्टार्ट र ईन्डिङ प्वाईन्ट हुनेगरि नै रंगशालाकाे निर्माण काम भईरहेको हाे ।
गाउँपालिकाको आर्थिक वर्ष ०७४÷७५ मा जिल्लाको ठुलो खेलमैदान स्तरोन्नतीका लागि क्रमागत योजनाअन्र्तगत विनियोजित ५५ लाख बजेटले हालका लागि कटिङ, फिलिङ र वालिङको काम लगभग सकिएको खेलमैदान निर्माण समितिका अध्यक्ष दिनेश खत्रीले बताए । रंगशाला निर्माणका लागि गत आर्थिक वर्षमा गाउँपालिकाको सिलिङ बजेटको क्रमागत योजना अन्र्तगत परेकाले करिब २ करोडको प्राविधिक ईस्टीमेट राखिएपनि हालका लागि पहिलो आर्थिकवर्षको ५५ लाखको लागतमा गत जेठबाट पहिलो चरणको निर्माण काम सम्पन्न भएको जनाईएको छ ।
हालका लागि १ सय मिटर लम्बाई र ५० मिटर चौडाई बनाईएको रंगशालामा सामान्य खेलहरु खेलाउन सकिने अध्यक्ष खत्रीले बताए । उनका अनुसार क्रमागत योजना अन्र्तगत परेकाले बाँकी चालु आर्थिक वर्षको बजेटबाट पूर्ण रुपमा स्तरोन्नतीको काम सकिने तयारी रहेको छ । यसपछाडी बजेट पुगेको खण्डमा प्यारापिटसहितका लागि कटिङ गरेर एक सय मिटर लम्बाई र ६० मिटर चौडाईको रंगशालाको स्तरोन्नती गर्नेगरि गाउँपालिका अध्यक्षसंग छलफल भईरहेको उनले बताए ।सुरुवाती चरणमा रंगशालालाई गाउँपालिकास्तरीय खेलमैदान भनेर निर्माण सुरु गरेको थियो । तर पछि विश्व अल्ट्राधाविका मिरा राई जन्मको गाउँ र उनको सम्मानका लागि क्षेत्रीयस्तरकै बहुउद्देश्यीय रंगशाला बनाउने प्रस्ताव आएकाले यसलाई पछि क्षेत्रीयस्तरकै मैदानको रुपमा लैजाने शर्तमा गाउँपालिकाले निर्णय स्विकृत गरेको अध्यक्ष खत्रीको भनाई छ । उनले भने, ‘विश्व अल्ट्राधाविका मिरा राईले पनि आफ्नो जन्मभुमिका लागि केहि गरौँ भन्ने मनसाय लिनुभएपछि खेलमैदानलाई क्षेत्रीयस्तरको बनाउने निर्णय भयो ।’ अल्ट्राधाविका मिरा राईको सम्मानका लागि पनि वर्षवर्षमा यसै रंगशालालाई अल्ट्रा म्याराथुनको स्टार्ट र ईन्डिङ प्वाईन्ट हुनेगरि रंगशाला निर्माणको तयारी भईरहेको खत्रीले सुनाए ।
रंगशालाको व्यवस्थित स्तरोन्नतीका लागि सरकारबाट बजेट थप्ने प्रयास भईरहेको गाउँपालिका प्रमुख किरण राईले जानकारी दिए । उनले खेलकुद पर्यटनको विकास गर्नेगगरि रंगशलाका लागि आवश्यक बजेटका लागि सरकार समक्ष पनि पहल गर्ने बताए । स्थानिय समाजसेवी हर्कराज राईले करिब ६० लाख बराबरको निःशुल्क जग्गामा निर्माणाधिन रंगशाला जिल्लाभित्रै भलिबल, फुटबलका साथै विभिन्न प्रतियोगितात्मक खेलहरु सञ्चालनका लागि वर्षेनी विद्यालयहरुका खेलमैदानलाई विकल्पमा रोज्नुपर्ने समस्या हटेको छ ।
जिल्लामा पहिलो ठुलो, महत्वपूर्ण, ऐतिहासिक, नमुनाको काम भएको सुनाउँदै अध्यक्ष खत्रीले जिल्लाको पूर्वी क्षेत्रलाई महत्व दिने किसीमले रंगशाला बनाईएको बताए । उनी भन्छन्, ‘आगामी दिनमा यहाँका स्थानिय खेलाडीहरु पहिलेजस्तो बाहिर खेल्न, सिक्न जानुपर्ने बाध्यता हट्नेछ । स्थानियस्तरमै राम्रो खेलाडीहरु उत्पादन गर्ने र यहाँको खेलजगतलाई माथि लाने हाम्रो मूख्य लक्ष्य हो ।’