मेसीको कीर्तिमानी उपाधि

काठमाडौँ  । स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले सोमबार बिहान मोरक्कोमा खेलिएको खेलमा सेभिललाई २–१ गोलले हराउँदै उपाधि हात पारेको हो । खेलको प्रारम्भमै अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा सेभिल उपाधिबाट विमुख भएको थियो । खेलका क्रममा सेभिलले एउटा पेनाल्टी प्रहारको अवसर पनि खेर फालेको थियो ।
खेल सुरु भएको नवौं मिनेटमै सेभिलका लागि पाब्लो साराबियाले गोल गरेका थिए। निर्धा्रित समयको ४२ औं मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले जवाफी गोल गर्दै पहिलो हाफको खेललाई १÷१ को बराबरीमा टुंग्याएका थिए । स्पेनको राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेको एक दिनपछि नै पिकेले बार्सिलोनाका लागि महत्वपूर्ण गोल गरेका हुन् ।
यसैगरी ७८ औं मिनेटमा २१ वर्षीय फ्रान्सेली विंगर ओस्मान डेम्बेलले बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए । खेलको ८९औं मिनेटमा सेभिलका विसाम बेन एदरले पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गर्न सकेनन् । परिवर्तित खेलाडीको रूपमा मैदान छिरेका विसामको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले विफल पारेका थिए । उनले नै एलेक्स भिदाललाई फल गरेका कारण सेभिलले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
बार्सिलोनाले जितेको यो उपाधि क्लबका अर्जे्न्टिनी स्टार लियोनल मेसीका लागि पनि विशेष रह्यो । बार्सिलोनाबाट मेसीले जितेको यो कीर्तिमानी ३३औं उपाधि हो। ३१ वर्षीय मेसी बार्सिलोनाका लागि सबैभन्दा बढी उपाधि जित्ने खेलाडी हुन् । यसअघि बार्सिलोनाबाट मेसी र आन्द्रे इनिएस्टाले ३२÷३२ उपाधि जितेका थिए। इनिएस्टा भने यसै सिजन बार्सिलोना छाडेर जापानी क्लबमा आबद्ध भएका छन् ।
स्पेनिस क्लब फुटबलमा यही खेलमार्फत पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि पनि लागू गरिएको थियो। पाब्लो साराबियाले गरेको गोललाई अफ साइड घोषित गरिए पनि भीएआर प्रविधिमार्फत उक्त गोलले मान्यता पाएको थियो। जर्मन क्लबबाट यसै सिजन बार्सिलोनामा आबद्ध भएका मिडफिल्डर आर्टुरो भिदालले पनि सोमबारको सोही खेलमार्फत आफ्नो नयाँ क्लबका लागि ‘डेब्यु’ गरेका थिए । उनी परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए ।
यसैगरी स्पेनिस सुपर कपको इतिहासमा पहिलो पटक स्पेन बाहिर फाइनल खेल खेलाइएको हो । यसपटक स्पेनिस सुपर कपमा दोहोरो लेग प्रणाली पनि हटाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार