५२ किमी मुन्दुम अल्ट्रा रेसको तयारी पुरा

भोजपुर । विश्व अल्ट्रा धावक मिरा राईको सम्मानमा ‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ प्रतियोगिताको तयारी ९० प्रतिशत सकिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा दौडका लागि सम्पूर्ण व्यवस्थापन पक्षलाई ध्यानमा राख्दै जेठ २५ हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पु¥याईएको आयोजकले जनाएको छ ।
मुन्दुम पदमार्गको पर्यटकीय प्रबद्र्धनलाई ध्यानमा राख्दै जिल्ला खेलकुद विकास समिती भोजपुरको आयोजनामा हुने दौडमा जिल्ला भित्र र बाहिरका ८० जना धावकले सहभागी जनाउने भएका छन् । जसमध्ये महिलातर्फ जिल्लाबाहिरका ३ जना र जिल्लाभित्रका १४ जना गरी १७ जना र पुरुषतर्फ जिल्लाबाहिरका १२ जना र जिल्लाभित्रका ५१ जना गरी ६३ जनाको सहभागी रहने आयोजकले जनाएको छ ।
५२ किलोमिटर लामो दुरीको दौड भोजपुर सदरमुकामको टुँडीखेलबाट शुरु भई सिद्धकाली मन्दिर, काफ्ले, धापखर्क, सुन्तले, बाघखोर, पासेगैरा, चाँपे, चुच्चे गुम्बा हुँदै पर्यटकीयस्थल मैयुङ्ग डाँडाको साउनेडाँडाबाट पुनः उक्त मार्ग हुँदै टुँडीखेलमा आएर समापन हुने दौडको आयोजक कमिटीको संयोजनको रुपमा रहेको रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमी भोजपुरका अध्यक्ष एबम आयोजक कमिटीका संयोजक पावीहाङ्ग राईले जानकारी दिँदै भने, ‘यो दौड विशेष गरेर हामीले अल्ट्रा धावक भोजपुरे चेली मिरा राईको सम्मानमा आयोजना गर्न लागेका हौँ ।’

‘सहभागीबाट प्राप्त सम्पूर्ण शुल्क रकम करिब ७२ जना विपन्न विद्यार्थीका लागि खाजा खर्चकाे रुपमा प्रदान गरिने’

उनले जिल्लाको खेल क्षेत्रमा विकास र अल्ट्रा धावक मिरा राईको सम्मानका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनका अनुसार मौसमको प्रतिकुलताको कारण १६ वर्ष उमेर माथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । जिल्ला बाहिरबाट सहभागी हुने खेलाडीहरुका लागि आयोजकका तर्फबाट खान, बस्नका लागि प्रबन्ध मिलाईएको जनाईएको छ ।
दौडमा भाग लिन विद्यार्थीका लागि २ सय र अन्यका लागि ३ सय शुल्क रहेको छ । सहभागीबाट प्राप्त सम्पूर्ण शुल्क रकम भोजपुर नगरपालिका ६, देउराली पालुवास्थित पञ्चकन्या आधारभूत विद्यालयका करिब ७२ जना विपन्न विद्यार्थीका लागि खाजा खर्चकाे रुपमा प्रदान गरिने संयोजक राईले जानकारी दिए ।
प्रतियोगितामा एकल दौडतर्फ प्रथम दितिय, तृतिय, चौथो र पाँचौ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः ५० हजार, २५ हजार, १५ हजार, १० हजार र पाँच हजारको साथ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । यस्तै सामुहिक रुपमा प्रथम, दितीय र तृतीय हुने समुहले क्रमशः १० हजार, आठ हजार, पाँच हजारका साथ ट्रफी र प्रमाण पत्र पाउनेछन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव केशव विष्टको विशेष उपस्थितीमा आयोजना हुने प्रतियोगितामा भोजपुर लगायत जिल्ला बाहिरका खेलाडीले सहभागी जनाउने बताइएको छ । आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले प्रतियोगिताको आयोजना गरेको छ भने राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रायोजन, रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमीको संयोजन, तिम्मा सरोकार मञ्च काठमाण्डौ, दाँवाली मिलन क्लब र नेपाल माउटेन्ड स्काई रनिङ्ग एसोसियसनले संयुक्त रुपमा प्राविधिक सहयोग गरेको छ । रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका २५ जना स्वयम्सेवकले दौडका दौरान पथप्रदशक गर्नेछन् भने संयोगबस खेलाडी घाईते भएमा सहयोग पु¥याउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार