काठमाडौँ । ताप्लेजुङमा बुधबार मध्यान्ह भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको लिङखिम् र फुरुम्बु गाउँपालिकाको मध्यभागमा रहेको सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाई धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबैको घटनास्थलमै निधन भएको जनाईएको छ ।
’घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ’, उनले भने, ’दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।’ क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो ।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद शेरचन, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर ध्रुवदास भोछिभया र स्वयम् हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी रहेका छन् ।