बेलायती प्रधानमन्त्री मे र ओलीबीच ब्रिटिस गोर्खा र सन्धि पुनरावलोकनसम्बन्धी छलफल

बेलायतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी टेरेसा मेसँग भेटवार्ता गरेका छन्।

मंगलबार लण्डनस्थित प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटमा  भएको भेटवार्तामा नेपाल बेलायतबीच मैत्रीपूर्ण सम्बन्धको समग्र समीक्षा भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार बेलायती प्रधानमन्त्री मेले नेपाल-बेलायत सम्बन्धको स्तरप्रति सन्तोष व्यक्त गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले भेटवार्तामा नेपाल,भारत र बेलायतबीचको त्रिपक्षीय सन्धिलाई पुनरावलोकन गर्नुपर्नमा जोड दिएका थिए।

बेलायती प्रधानमन्त्री ओलीले ब्रिटिस गोर्खाका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गरेर दुवै देशको सम्बन्धलाई प्रगाढ बनाउने कुरामा बेलायती प्रधानमन्त्री मेसमक्ष राखेको मन्त्री ज्ञवालीले जानकारी दिए।

ज्ञवालीले लण्डनस्थित नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै  प्रधानमन्त्रीले ब्रिटिस गोर्खा र सन्धि पुनरावलोकन जस्ता विषयलाई गम्भीरताका साथ लिँदै छलफल गरेर अघि बढ्ने सहमति दुई प्रधानमन्त्रीबीच भएको बताए।

प्रधानमन्त्री ओलीले नेपालले राजनीतिक संक्रमण सकिएर नेपाल आर्थिक विकासमा केन्द्रित रहेको जानकारी बेलायती प्रधानमन्त्रीलाई गराएका थिए।

ओलीले नेपालमा  लोकतन्त्र, मानवअधिकार, जनताका अधिकार जस्ता आधारभूत प्रजातान्त्रिक मूल्य मान्यताहरू  कसरी सुदृढ गर्दै लगिएको छ भन्नेबारे प्रधानमन्त्री मेलाई बताए।

प्रधानमन्त्री मेले नेपालले हासिल गरेका उपलब्धिका निम्ति बधाई दिँदै नेपालको विकासमा बेलायतको दृढ समर्थन र ऐक्यवद्धता रहेको जनाइन्।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार ह्यारीलाई पनि भेट गरेका छन् ।

ओली मंगलबार दिउँसो बेलायती संसद अल पार्टी ग्रुपका संयोजक वीरेन्द्र शर्माले वेष्टमिनिस्टरमा आयोजना गरेको एक समारोहमा सहभागी भएका थिए।

ओलीले सो समारोहलाई सम्बोधन गर्दै नेपालको लोकतन्त्रप्रतिको प्रतिवद्धता, स्वतरन्त्रता तथा मानअधिकारको बारेमा आफ्ना भनाइ राखेका थिए।

सोमबार साँझ लण्डनमा उत्रिएका ओलीले सोही दिन अक्सफोर्ड युनियनद्वारा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए।

प्रराष्ट्मन्त्री प्रदीप ज्ञवाली, प्रराष्ट् सचिव शंकरदास बैरागी ,प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रमुख प्रेस सल्लाहकार कुन्दन अर्यालसहितको टोली लिएर बेलायत आएका प्रधानमन्त्री ओलीले बुधबार बिहान बेलायतस्थित गैरआवासीय नेपाली समुदायलाई  सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

ओली बुधबार पेरिसमा आयोजित एक कार्यक्रममा सहभागी हुन लण्डनदेखि पेरिस रेल यात्रा तय गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार