बालुवाटार जग्गा प्रकरणमा गच्छदार खोज्दै अख्तियार र सिआइबी

  सिलिचुङ समाचारदाता

फाइल फाेटाे

प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सबै जिम्मेवारसँग बयान लिइरहेका छन् । तर, दुवै निकायले खोजिरहेका तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहीन छन् । दुवै निकायले बयानमा बोलाएपछि १५ असारमा भारत गएका उनी उतैबाट अमेरिका गए । भारत फर्किएपछि पनि नेपाल आउनुको सट्टा चेन्नईतिर लागेका छन् ।

यस्ता बयानमा अख्तियारले फोनबाटै बोलाउने, फोनबाटै पछ्याउने र नआएमा पत्र काट्ने र पत्रिकाबाट सार्वजनिक सूचनासमेत प्रकाशित गर्ने गरेको छ । गच्छदारले जानीजानी बयान टार्न खोजेको भन्दै अख्तियारले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । यसअघि तत्कालीन भौतिक पूर्वाधारसचिव तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले पनि बयान दिन अस्वीकार गर्दा अख्तियारले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको थियो । गत बिहीबारसम्म बयान दिन जान्न भनेका बस्न्यात शुक्रबार कार्यालय नखुल्दै अख्तियार पुगेका थिए । उनी बेलुका कार्यालय सकिएपछि मात्र फर्किएका थिए ।

बयानका लागि बोलाउन खोज्दा गच्छदार सम्पर्कमा आउन नचाहेपछि सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियार स्रोतका अनुसार बयानका लागि बोलाउने तयारी गरेलगत्तै गच्छदारले नेपाल छाडेका छन् ।

०६६ मा सरकारले बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने गरी निर्णय गर्दा उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले सम्हालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले टिप्पणी उठाएको थियो । भूमिसुधार मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषय गच्छदारको मन्त्रालयबाट टिप्पणी उठेकै आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।

बालुवाटार जग्गा प्रकरणमा छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) समेत गच्छदारसँग बयान लिने तयारीमा छ । तर, उनी सम्पर्कमा आएका छैनन् । सरकारले बालुवाटारको जग्गा हिनामिना भएको सन्दर्भमा सिआइवीलाई छानविनको निर्देशन दिएको छ । सिआइवीले वालुवाटार जग्गा हिनामिनाको प्रतिवेदन दिन एक महिनामात्र बाँकी हुँदा गच्छदारसँग पनि बयान लिने तयारी गरेको हो । त्यसअघि सिआइवीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुत्त दिप बस्न्यातसँग पनि बयान लिने तयारी गरेको छ ।

२९ चैत ०६६ को मन्त्रिपरिषद् बैठकले नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा पु¥याएको थियो । उक्त निर्णयका आधारमा करिब १४ रोपनी जग्गा १२ जना नक्कली मोहीका नाममा लगिएको थियो । यसको प्रस्ताव अघि बढाउने विभागीय जवाफदेहीता रहने आधारमा गच्छदारसँग अख्तियार र सिआईबीले वयान लिन खोजेको हो । २९ चैत ०६६ को माधवकुमार नेतृत्वको मन्त्रिपरिषद्ले मोही ठहर गरेका व्यक्तिहरूसँग अख्तियार र सिआइवीले बयान लिएको छ । उनीहरूले आफूहरू मोही नभएको बयान दिएका छन् । जग्गा माफियाहरूले ८ देखि १० लाखसम्म दिएर हस्ताक्षर गराएको उनीहरूले बयानमा स्वीकारेका छन् । नक्कली मोहीको बयान उद्धृत गर्दै एक अधिकारीले भने, ‘मन्त्रिपरिषदले मोही भनेकाहरूले नै आफुहरू सक्कली मोही नभएको स्वीकारिसकेका छन्, जग्गा हिनामिनामा संलग्न रामकुमार सुवेदीबाहेक सबैले गल्ति स्वीकारेका छन् ।’

जग्गाको विषय भूमिसुधार मन्त्रालयको हो, तर भौतिक पूर्वाधार मन्त्रालयले फाइल किन अघि बढायो ? यस विषयमा तत्कालीन सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग समेत अख्तियारले बयान लिइसकेको छ, तर तत्कालीन मन्त्री विजय गच्छदारलाई बयानमा बोलाएपछि उनी सम्पर्कविहीन भए । तीन साताअघि भारत गएका उनी उतैबाट अमेरिका पुगे । एनआरएनए अमेरिकाले आयोजना गरेको वार्षिक साधारणसभामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोलाइएको थियो । उनी नपुगेपछि कांग्रेस नेता गोविन्द भट्टराईलाई प्रमुख अतिथि बनाउने घोषणा गरिएको थियो । तर, अचानक कांग्रेस उपसभापति गच्छदार पनि अमेरिका पुगेको जानकारी पाएपछि आयोजकले उनलाई नै प्रमुख अतिथि बनाएका थिए । सो कार्यक्रममा भाग लिएर गच्छदार नेपाल फर्किएका छैनन्, उनी दिल्ली आएर फेरि चेन्नईतिर लागेको उनका स्वकीय सचिव यज्ञ चौधरीले बताए ।

उहाँ (गच्छदार) १५ असारमा नेपालबाट हिँड्नुभएको हो । ओम शान्तिको कार्यक्रममा दिल्ली हुँदै राजस्थान जानुभयो । दुई–अढाई वर्षमा परिवारका सदस्यहरूको मृत्यु हुन थालेपछि पञ्चकमा परेको हो कि भनेर धार्मिक कार्यक्रममा जानुभएको हो । राजस्थानमा एक हप्ताको कार्यक्रम सकेपछि दिल्लीमा एक रात बसेर २२ असारमा अमेरिकाको सिकागो उड्नुभएको हो ।

सिकागोमा एनआरएनएको सम्मेलन थियो । २४–२५ असारतिर कार्यक्रम थियो । ६ दिनजति अमेरिका बसेपछि सीधै नेपाल फर्किने भन्ने थियो । तर, फेरि दिल्ली फर्किनुभएको छ । एक–दुई दिन दिल्लीमा मुटुको उपचार गराएर आँखा जचाउन चेन्नई पुग्नुभएको छ । चेन्नईको शंकरा नेत्रालयमा उपचार भइरहेको छ । अब एक–दुई दिनमै नेपाल फर्किनुहुन्छ ।

चार–पाँच वर्षदेखि उपचार गर्न जाने भन्ने भए पनि समय मिलेको थिएन । यसअघि मंसिरमा दिल्ली जान्छु भन्नुभएको थियो, तर पार्टीको समायोजनले अड्कियो । त्यसपछि समय मिलेको थिएन, अहिले जानुभयो । कुनै राजनीतिक कारणले होइन, उपचारकै लागि जानुभएको हो । अमेरिका जाँदा परिवारका सदस्य लानुभएन, तर उपचारका लागि सहयोगी चाहिने भएपछि भारतमा श्रीमती र छोरालाई बोलाउनुभएको थियो । उहाँको मोबाइलमा सम्पर्क गरे कि के गरे थाहा भएन । उहाँ जानुभएको १५–२० दिन भइसक्यो । तर, अख्तियारले अहिलेसम्म हामीसँग सोधखोजका लागि कुनै सम्पर्क गरेको छैन ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपसभापति गच्छदार भारत हुँदै अमेरिका पुगेको जानकारी दिए । ‘उहाँ पार्टीलाई जानकारी गराएरै भारत हुँदै अमेरिका पुग्नुभएको छ,’ पौडेलले नयाँ पत्रिकासित भने, ‘अहिले अमेरिकामै हुनुहुन्छ । एक–दुई दिनमा नेपाल फर्किनुहुन्छ ।’

एनआरएनएको साधारणसभामा गच्छदारलाई नै प्रमुख अतिथि बनाइएको थियो । सुरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रमुख अतिथि बनाउने तयारी भए पनि उनले नभ्याउने भएपछि गच्छदारलाई प्रमुख अतिथि बनाइएको सो कार्यक्रममा सहभागी कांग्रेसका एक नेताले बताए । अख्तियारले बालुवाटारको जग्गासँग सम्बन्धित अनुसन्धानमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग समेत बयान लिने तयारी गरेको छ । नेकपाका वरिष्ठ नेता नेपाललाई भने गोप्य रूपमा बयान लिने तयारी गरेको स्रोतको दाबी छ । ‘उहाँसँग पनि सोधिन्छ, तर बयान नभनी गोप्य रूपमा सोध्न सकिन्छ,’ अख्तियार स्रोतले भन्यो । तत्कालीन सचिव दीप बस्न्यातद्वारा लेखिएको र मन्त्री गच्छदारद्वारा स्वीकृत फाइलमा ‘प्रधानमन्त्री माधव नेपालसँग भएको छलफलको निष्कर्षका आधारमा उहाँकै चेम्बरमा टिप्पणी लेखिएको’ उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार