भोजपुर । जनताको काममा सहजिकरण भन्दा बाधा र अवरोध सिर्जना गरेको भन्दै भोजपुरको पुर्वि अरुण गाउँपालिका ६ वडा कार्यलयमा स्थानीयले ताला लगाएकाछन् ।
प्रदेश सरकार मार्फत विनियोजन भएको कार्यक्रम सञ्चालन गर्न सिफारिस माग गर्दा वडाध्यक्ष ज्ञानेन्द्र दाहालले अस्विकार गरेको भन्दै स्थानीयले कार्यलयमा ताला लगाएका हुन् । १ नं. प्रदेश सरकार मार्फत चालु वर्षका लागि लिफ्ट खानेपानी योजना सञ्चालन गर्न विनियोजन भएको कार्यक्रममा वडाध्यक्ष सकारात्मक नदेखिएको कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार योजना कार्यन्वयन गर्न स्थानीय लावान्वित समुदाय वडा ६ र ७ जरायोटारका भेला भई समिति निर्माण समेत गरिएको छ । लिफ्ट खानेपानी योजनाका लागि प्रदेश सरकार मार्फत ३० लाख रकम विनियोजन भएको छ ।
खानेपानी डिभिजन कार्यलय मार्फत योजनाको काम गर्न स्थानीय वडाको सिफारिसको आवश्यकता पर्ने तर वडाध्यक्ष योजनाको विरुद्ध उभिएकोले सचेत बनाउन तालानै लगाउनुपरेको समितिका सचिव अनिल राईले बताए । “ विगतमा समेत पुर्वाग्राही तवरले सामान्य सिफारिसको काममा आलटाल गर्ने अस्विकार गर्ने प्रवृत्ति वडाध्यक्षबाट हुने गरेको छ । ” सचिव राईले भने, “ स्थानीयको वृहत भेला मार्फतनै ताला लगाउने निर्णयमा पुगेका हौ । वडाध्यक्षको मनोमानी र जनताको विपक्षको विरुद्ध सांकेतिक तालावन्दि हो । ”
वडाध्यक्ष ज्ञानेन्द्र दाहालले भने सर्वसम्मत समिति नबनेको कारण सिफारिस नदिएको दावी गरेकाछन् । “ दलको पार्टी कार्यलयवाट बनेर आएको समितिलाई सिफारिस नदिएको हो ।” वडाध्यक्ष दाहालले भने,“ सर्वसम्मत समिति बनाऊ भनेको हो । साथीहरुले ताला लगाएछन् । ताला खोलेर सर्वसम्मत समिति बनाउन साथीहरुसँग अनुरोध गरेको छु । ”
दाहाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।